अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरमा सुनिताका सय दिन यसरी बिते

काठमाडौं महानगरमा सुनिताका सय दिन यसरी बिते



काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गर्नुभएको छ । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ । पूराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा लगाएको उहाँले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९÷८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उहाँले उल्लेख गर्नुभएको छ । सयको काममा उहाँले सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले काठमाडौँवासीसँगसँगै रहेर महानगरका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भएको बताउनु भएको छ । उहाँले फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गर्नूभएको छ । ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन्,’ उहाँले भन्नुभयएको छ,’ ‘पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।
डंगोलले मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास नगर्ने भन्दै काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि सबैको साझा सपना हुनुपर्नेमा जोड दिनुभएको छ । ‘यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचित होइन र हुँदैन पनि । त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ,’ उहाँले भन्नुभएको छ,’ ‘हामीले १ सय दिनमा के गर्््र्यौ भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दा पनि हामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।
उहाँले आफू नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भए पनि साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण गर्नुभएको छ । ‘हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘म समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगत भन्दा पनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु । हामीले यो १ सय दिनमा ‘बिहानीले दिनको संकेत गर्छ’ भने झैँ केही सकारात्मक कामको थालनी गरी काठमाडौँ महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ । यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन ।’
उहाँले जस–अपजसका सबै जिम्मेवारी सामूहिक रुपमा लिनुपर्नेमा पनि जोड दिनुभएको छ । ‘काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु, वडाका अध्यक्ष तथा सदस्यहरु, काठमाडौँ महानगरपालिकाका कर्मचारी मित्रहरु र महानगरवासीको एकमुष्ठ साथ, सहयोग, समर्थन र केही नयाँ गरौँ, केही नयाँ देखाऔँ भन्ने नेतृत्वको हुटहुटीको एकमुष्ठ प्रतिफल हो भन्ने मैले ठानेकी छु । हामी केही सकारात्मक थालनीको संकेत दिने दिशातर्फ उन्मुख भएका छौँ,’ उहाँले भन्नुभएको छ, ‘तर, यो पूर्ण भने होइन । हामीले गर्नुपर्ने धेरै काम छन् । हामीसँग चुनौतीका पहाड छन् । ती पहाडलाई फुटाउँदै गन्तव्यमा पुग्नुपर्ने छ । त्यसैले अहिले नै हामी हतार गर्ने र थोर–बहुत गरेका कामको पुलिन्दालाई फुकाएर त्यसमा लेपन गरी विज्ञापन गरिहाल्नुपर्छ भन्नेमा पनि छैनौँ ।’
त्यसैगरी उहााले बजेट, नीति तथा कार्यक्रममा पनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने उदेश्यलाई समावेश गरिएको उल्लेख गर्नुभएको छ । ‘बजेट, नीति तथा कार्यक्रमका बारेमा स्मरण गराउँदै गर्दा काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो चुनावी एजेण्डाप्रति म सजग र सचेत रहेको कुरा यहाँ स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नुभएको छ ।

त्यसैगरी मेलमिलापकर्ता छनौट प्रक्रिया, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास, शिक्षा क्षेत्रमा गरेका सुधारका प्रयास, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न गरेका पहल, नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता जस्ता कुरालाई पनि १ सय दिनमा गरेका कामको विवरणमा उल्लेख गर्नुभएको छ । राजश्व परामर्श समितिको गठन र कार्यान्वयन, पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार, सहरी व्यवस्थापनमा गरेका प्रयासलाई पनि उहाँले पत्रमा उल्लेख गर्नुभएको छ । ‘काठमाडौ महानगरपालिका सामाजिक सेवा विभाग अन्र्तरगत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ । जसमध्ये केही आवश्यक परेका व्यक्तिहरुको म स्वयं घरघरमै गएर उक्त परिचयपत्र वितरण गरिएको छ,’ उहाँले भन्नुभएको छ, ‘शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहिन, बहिरा, अटिज्म लगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ ।’ उहाँले थाली गरिएका योजनाहरुलाई १० बुँदामा उल्लेख गर्नुभएको छ । करको दायरा बृद्धि गरी बैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजिकरण भैरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको, सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको कुरालगायलाई उहाँले आगामी योजनामा समावेश गर्नूभएको छ ।
उहाँले उल्लेखित कार्यहरु १ सय दिन भित्रै सम्पन गरिएका, थालनी भएका संक्षिप्त विषयहरु मत्रै भएको भन्दै यस बाहेक पनि अनगिन्ती विषयहरुमा उपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्ने बताउनु भएको छ । ‘त्यसका लागि आम महानगरवासीको चाहना, आवश्यकता र सहभागिता सहित सम्पादन गर्न, गराउन हामी सबै जनप्रतिनिधि तथा कर्मचारीहरुको कर्तव्य हुनेछ,’ उहाँले भन्नुभएको छ, ‘आगामी दिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा कार्य हुने कुरामा विश्वस्त र प्रतिवद्ध छु ।’