काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनको शुक्रबारका लागि डाकिएको बैठक नै स्थगित भएको छ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्यस्त भएको भन्दै शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबारसम्मलाई स्थगित भएको हो।
बिहीबार दिनभर कार्यदल र शीर्ष नेताहरुबीच भएको छलफलमा सहमति हुन नसकेपछि शुक्रबारका लागि बैठक सारिएको थियो । तर गठबन्धनमा गम्भीर मतभेदको समाचार आइरहेका बेला नेताहरु व्यस्त भएको भन्दै पूर्वनिर्धारित बैठक बस्न नसकेको हो।
प्रधानमन्त्री देउवा गृहमन्त्री बालकृष्ण खाँणलाई साथमा लिएर बीपी स्मृति दिवसको कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान चितवन पुग्नुभएको थियो । उहाँ त्यहाँबाट फर्किन ढिलो भएको जनाएको छ। उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोखरा पुगेर फर्किनु भएको छ । अर्कातिर एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त भएको भन्दै बैठक बस्न नसकेको हो।
बिहीबारको बैठकमा मधेश प्रदेशका ३२ सिटलाई लिएर दलहरुबीच विवाद भएको थियो। मधेशका ३२ सिटमध्ये करीब २० वटामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले दाबी गरेको छ। उता कांग्रेसले पनि स्थानीय निर्वाचनमा पहिलो भएको भन्दै धेरै सिटमा दाबी गरेको छ।
यादव नेतृत्वको जसपाले मधेशका ६० प्रतिशतसहित प्रदेश १ का मोरङ ५ र धनकुटामा पनि दाबी गरेको छ। गठबन्धनमा जसपा असन्तुष्ट देखिएको छ।





प्रतिक्रिया