अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य फैसला गर्छ : केपी शर्मा ओली

मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य फैसला गर्छ : केपी शर्मा ओली


विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नियमित प्रक्रिया मात्र नभएको बताउनुभएको छ ।

विराटनगरमा आयोजित नेपाल बुद्धिजिवी परिषद् १ नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ को चुनाव निक्कै महत्वपूर्ण रहेको बताउनुभयो । लोकतन्त्रको सुन्दर पक्ष चुनाव भएको भन्दै उहाँले मंसिर ४ को चुनाव देशको भाग्य र भविष्यको फैसला गर्ने चुनाव भएको बताउनुभयो ।

चुनावबारे अनेक भ्रम फैलाइएकाे अध्यक्ष ओलीले बताउनुभयाे । अहिलेकाे गठबन्धन सरकार कठपुतली सरकार भएकाे समेत उहाँले बताउनुभयाे । गठबन्धन सरकार कस्ताे चलेकाे छ भन्ने आफूले व्याख्या गर्नै नपर्ने उहाँकाे भनाइ छ ।

अहिलेकाे गठबन्धन पदकाे किनबेचमा लागेकाे बताउनुभयाे । देशकाे अवस्था भयावह रहेकाे बताउनुभयाे । अहिलेकाे अधाेगतिलाई राेक्न नसके देश बर्बादीतिर जाने भन्दै अध्यक्ष ओलीले चिन्ता व्यक्त गर्नुभयाे ।

‘भयावह स्थितिमा देश छ। यदी हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ। लोकतन्त्रमा निर्वाचनहरू भइरहन्छन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मंसिर ४ गते हुने निर्वाचन आउँछ जान्छ जस्तो निर्वाचन होइन्। यो निर्वाचन देशको भाग्य फैसला गर्ने निर्वाचन हुन्छ।’

सत्ता गठबन्धनका नेताहरु जसरी पनि गठबन्धन जोगाउने र जे गरेपनि हुन्छ भनेजसरी हिँडेको उहाँले आरोप लगाउनु भयो । ‘अहिले जे गरेपनि गठबन्धन जोगाउने, गठबन्धनले जे पनि गर्न पाउने हुन थालेको छ। सबैतिर त्यही हुँदै गएको छ,’ ओलीले भन्नुभयो ।

गठबन्धन सरकारका कारण देशमा महंगी बढेकाे, विश्वविद्यालयमा लगातारकाे तालाबन्दीले विद्यार्थीकाे भविष्य अन्याैलमा परेकाे समेत उहाँले बताउनुभयाे । गुरुलाई बाटाे छेकेर घाइते बनाउने गुण्डाहरुलाई कांग्रेसकाे लेटरप्याडमा मुद्दा नहाल्नु भनेर उर्दी जारी गर्ने काम भएकाे भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे ।  गृह मन्त्रीकाे संरक्षणमा त्रिविमा तालाबन्दी लगायत गतिविधि भएका बताउनुभयाे ।

अर्थमन्त्रीकाे संरक्षणमा अर्थतन्त्र ध्वस्त भइरहेकाे बताउँदै अध्यक्ष ओलीले कानुनमन्त्रीकाे संरक्षणमा कानुनीराज ध्वस्त बनाइदिने काम भइरहेकाे बताउनुभयाे । यी तमाम क्रियाकलाप राेक्नका लागि मंसिर ४ काे चुनावले सही फैसला लिनुपर्ने बताउनुभयाे ।

सही फैसला भनेकाे शान्ति सुव्यवस्था र स्थिरताकाे पक्षमा रहेकाे सरकार बनाउनुपर्ने र त्याे भनेकाे एमालेकाे सरकार भएकाे अध्यक्ष ओलीले बताउनुभयाे ।