सिन्धुपाल्चोक-मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् ।
उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्ति भयो भने असम्भव भन्ने केही हुन्न भन्ने ज्वलन्त उदाहरण हुन् आशिष । न कुनै खेलकुद मैदान, न कतैको लगानी, न फुटबलको पूर्वाधार, न कोही प्रशिक्षक । जिल्लामा त्यतिबेला भइहाले पनि फाट्टफुट्ट भलिबल हुने गर्दर्थे । तर उनीले आफ्नो फुटबलप्रतिको लगावलाई निरन्तरता दिइरहे । त्यसैले उनी आज सफलतालाई पछ्याउँदै फुटबलमा भविष्य खोजिरहेका छन् ।
मेलम्चीमा एउटा स्थानीय क्लबबाट फुटबल यात्रामा लागेका उनीले जिल्लाका विभिन्न प्रतियोगितामा सामेल हुँदै जिल्ला, क्षेत्र, प्रदेश हुँदै अहिले खुमलटार क्लबमा अनुबन्धन भएका छन् । भर्खरै ‘ए’ डिभिजनमा बढुवा भएको खुमलटारबाट ‘ए’ डिभिजन प्रतियोगिताका लागि मैदान उत्रने तयारीमा रहेको उनीले बताए ।
सिन्धुपाल्चोक जिल्ला काठमाडौसँग जोडिएको जिल्ला भए पनि हरेक दृष्टिकोणले पछाडि परेको जिल्ला हो । सोनाम ल्होछारको अवसरमा इन्द्रावती गाउँपालिकामा भएको क्षेत्रस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलको उत्कृष्ट खेलाडी सम्मान प्राप्त गरेका उनीले त्यही खेलको उत्कृष्ट प्रदर्शनले मनाङ–मस्र्याङ्दी क्लबमा अनुबन्धन हुने अवसर पाए ।
भूकम्प र कोरोनालगायत आफ्ना विभिन्न समस्याका कारण फुटबलबाट निस्क्रिय रहेका आशिषले अहिले भने खेलको लय समात्न पाएका छन् । मनाङ–मस्र्याङ्दी हुँदै एपिएफ क्लबमा समेत अनुभव बटुलिसकेका उनीले एन्फाको ‘सी’ डिभिजनको खेलमा कोटेश्वरको च्याम्पियन्स ब्वाइजबाट पहिलोपटक ‘सी’ डिभिजनका लागि मैदान उत्रिएका थिए । विसं २०७६ मा श्री भगवती क्लबबाट ‘बी’ डिभिजनका लागि मैदान उत्रने मौका दिएको आशिषलाई लकडाउनका कारण खेलमा निरन्तरता दिन केही समस्या भएको थियो ।
सोही समयतिर बागमती लिगमा जिल्लाबाट सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गरेका उनीले जिल्लाले तृतीय स्थान हासिल गरे पनि उनी भने प्रदेशको उत्कृष्ट डिफेन्डरका रूपमा सम्मानित भएका थिए । विसं २०७८ मा भएको एन्फा लिगमा खुमलटारबाट मैदान उत्रेका आशिषले १३ वटा प्रतिस्पर्धामा १२ मा खेल्ने अवसर पाउँदा म्यान अफ द म्याचको दुईवटा अवार्ड प्राप्त गरेका थिए । उनी क्यापटेन हुन् ।
“खेल भनेको आफ्नै मेहेनतले खेल्ने कुरा हो । चुनौती भनेकै अरुलाई हराएर आफ्नो पक्षमा नतिजा हासिल गर्नु हो । म त्यही चुनौतीको सामना गर्दै खेलिरेहको छु”, उनीले भने । हरेक क्षेत्रमा चुनौती रहेको सुनाउँदै आशिषले खेलप्रतिको अनवरत यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
जिल्लामा खेलकुदका गतिविधि निकै न्यून हुने गरेको बताउँदै आशिषले धेरै इच्छाशक्ति भएर पनि पूर्वाधार आवश्यक स्रोत र साधन नहुँदा जिल्लामा कतिपय खेलाडीले आफ्नो प्रतिभा, क्षमता प्रदर्शन गर्न नपाएको बताए । स्कुल तहबाटै विद्यार्थीलाई खेलक्षेत्रमा आकर्षित गर्न सके देशले धेरै राम्रा खेलाडी उत्पादन गर्नसक्ने उनीको बुझाइ छ ।
खेल क्षेत्रमा सुधार गर्नुपर्ने कुरा धेरै रहेको जनाउँदै उनीले खेलाडीलाई हौसलासँगसँगै पारिश्रमिकका कुरामा पनि राज्यले हेर्नुपर्ने बताए । खेलका लागि पर्याप्त पूर्वाधारको निर्माण गर्न नसक्नु र आवश्यक स्रोत, साधन जुटाउन नसक्नुले पनि हाम्रो खेलजगत्मा अपेक्षित सुधार हुन नसकेको स्वीकार्दै पूर्वाधारको विकास गर्न सक्नुपर्ने तर दोष सबै पूर्वाधार र स्रोतलाई मात्र दिएर पन्छिन सकिने अवस्था भने नरहेको उनीको भनाइ छ ।
उनीले भने, “स्रोत र लगानी मात्रले फुटबलको विकास गर्न सकिने भए धेरै स्रोत र लगानी गर्न अन्य क्लब, विदेशी मुलुक विश्व फुटबलमा किन पछाडि परेको रु स्रोत र लगानीले मात्र फुटबलको विकास हुन्छ भन्ने हाम्रो मान्यता पूर्णरूपमा गलत छ । स्रोत र लगानीको प्रभावकारी प्रयोग अनि स्पष्ट रोडम्यापमा आधारित कार्यान्वयनले भने हामीले आफ्नो सपना हुर्काउन सक्छौँ ।” स्थानीय तहले साथ दिए खेलाडी र खेलमा सहयोग हुने उनीको भनाइ छ । विद्यालयमा सिक्ने मौका पनि भए राम्रो हुने उनीको भनाइ छ ।
प्रतिक्रिया