काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउनका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा एमालेको जीत हुनु पर्ने बताउनु भएको छ । गठबन्धनले १३ महिनामा मुलुक र जनतामाथि नै गम्भीर खेलवाड गरेकोले अब निर्वाचनमा एमालेले जित्नुको विकल्प नरहेको अध्यक्ष ओलीले बताउनुभयो ।
काठमाडौंमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ’आगामी निर्वाचनमा एमालेले नजित्ने हो भने देश बर्वाद हुन्छ, गठबन्धनले गरेको ज्यादती रोक्न जरुरी छ ।’
अध्यक्ष ओलीले गठबन्धन सरकार मुलुकका लागि अभिषाप बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘१३ महिनामा मुलुकको अर्थतन्त्र तहस-नहस पारेको छ । महंगीको कुरा सुनिनसक्नु छ । मूल्य डरलाग्दो गरी बढेको छ । वैदेशिक मुद्राको सञ्चतति डरलाग्दो रुपमा घटेको छ । हरेक ठाउँमा आफ्नो खर्च कटौती गर्नु परेको छ । कठिनाइ तर्फ जिन्दगी जाँदै छ ।’
उहाँले यसपटकको निर्वाचनमा मत हाल्दा देशको माटोलाई हेर्न आग्रह गर्नुभयो । ‘यो चुनाव हरेक पाँच वर्षमा हुने साधारण आम निर्वाचन जस्तो मात्रै होइन । विशेष महत्वको हो । देश बनाउने कि बर्वादीलाई बढावा दिने भन्ने निर्णय यो निर्वाचनबाट लिनुपर्ने छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।





प्रतिक्रिया