अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्रकै जस्तो हालत हुन्छ आगामी निर्वाचनपछि देउवाको

चोलेन्द्रकै जस्तो हालत हुन्छ आगामी निर्वाचनपछि देउवाको


काठमाडौं – सर्वोच्च अदालतको परमादेशबाट २०७८ असार २८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको सरकार विघटन भई नेपाली कांग्रेसका सभापतति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन दलका तर्फबाट सरकार बन्यो । यो सरकार बनेको १ वर्ष भन्दा धेरै भइसकेको छ ।

संसदबाट सरकार परिवर्तन गर्न नसक्ने भएपछि एमालेकै एउटा समूह, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी र राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालत गुहारेर सेटिङमार्फत परमादेश जारी गराउन सफल भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरुद्धमा लागेका दलहरूले संसद पुनस्थापनासँगै परमादेशबाट प्रधानमन्त्री तोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको पक्षमा सुनुवाई गर्दै तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितका पाँचजना न्यायाधीशहरूले परमादेश जारी गरेका थिए।

संसद पुनस्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्री बनाउन परमादेश गर्ने नायक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा यतिबेला रगतको आशु पिएर दिन बिताइरहनु भएको छ ।

गठबन्धन दलहरूसँगको मिलेमतोमा केपी शर्मा ओलीको सरकारलाई परमादेशबाट हटाएर देउवालाई प्रधानमन्त्री बनाएका राणालाई त्यही गठबन्धन सरकारले संसदमा महाअभियोग लगाएर निलम्बन गरिदिएपछि गत फागुनदेखि उनी सर्वोच्च अदालत गएका छैनन् ।

गठबन्धनको लालचमा परेर ओली सरकार ढलाउन प्रमुख भूमिका खेलेका राणा यतिबेला पछुताएर बस्नु भएको छ । उहाँले संसदीय छानविन समितिसँग परमादेश जारी गरेको पीडा सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन् ।

सार्वजनिक रूपमा जति व्यक्त गरेका छन्, त्यो भन्दा सयौ गुणा बढी उहाँ एक्लै पछुताउनु भएको छ । हिजो विभिन्न स्वार्थका कारण सत्ता परिवर्तनको मूल सारथी बनेका राणालाई आफ्नै लागि आफैले गलत बाटोबाट बनाएको सरकार गलपासो बन्ला भन्ने शायद लागेको थिएन । अझै उहाँले सत्तामा साझेदारी समेत खोजेको विषय पनि छताछुल्ल भएको थियो ।

नेपाली राजनीतिमा पछिल्लो समय सबैभन्दा पीडित पात्र चोलेन्द्र शमशेर राणा हुन, उहाँले सोच्दै नसोकेको, उहाँले सहयोग गरेको त्यो पनि संसदलाई समेत सरकारको नेतृत्व परिवर्तन गर्न नदिएर गरेको गलत काम आज पासो बनेको छ ।

जीवनभर न्याय क्षेत्रबाट कमाएको मान प्रतिष्ठामा आच आउने गरी उहाँ विरुद्ध महाअभियोग लगाइएको छ, त्यो पनि ६ महिनासम्म चुपचाप संसदमा थन्किन्छ र संसदको आयु सकिने समयमा छलफलका लागि आएको छ र यसै सन्दर्भमा राणाले परमादेशको स्वार्थका बारेमा बताउन समेत थालेका छन् ।

राजनीतिको पछिल्लो मैदानमा आज जसरी चोलेन्द्र शमशेर राणा पछुताएका छन् त्यसैगरी आगामी निर्वाचन पछिको संसदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछुताउने दिन आउदैछ भन्ने विषयमा यो आलेखमा थोरै चर्चा गर्न गइरहेको छु ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय मौन बस्नुभयोे, उहाँले आन्तरिक रूपमा निर्वाचनमा केन्द्रीत हुन आफू निकटकाहरूलाई सर्कुलर पनि गर्नुभयो । यद्यपी, उहाँ सार्वजनिक रूपमा पक्ष विपक्षमा देखिएनन् । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायतले संसद विघटनको विरोध गरिरहदा देउवा मुकदर्शक बनेर हेरिरहे।

जब केपी ओलीले दोस्रो पटक पनि संसद विघटन गरे अनि एमालेकै एउटा समूहले देउवालाई प्रधानमन्त्रीका लागि सहयोग गर्ने प्रतिवद्धता जनायो त्यसपछि उहाँ त्यसका विरुद्धमा लाग्नुभयो । सर्वोच्च अदालतमार्फत नै सत्ता परिवर्तनको मार्गमा लागेका देउवा अन्तत २०७८ असार २९ गते प्रधानमन्त्री बन्न सफल पनि हुनुभयो।

सत्ता परिवर्तनका लागि बनेको पाँच दलीय गठबन्धन कसिलो हुँदै गयो । गठबन्धन सरकारले नै स्थानीय तहको निर्वाचन गराउने अवस्था आयो, गठबन्धनमा रहेका दलहरू एकतावद्ध भएर स्थानीय निर्वाचनमा होमिए।

माओवादी केन्द्र भर नभएको, सत्ताका लागि जे पनि गर्न सक्ने, जसो पनि गर्न सक्ने अवसरवादी दल हो । हिजो चोलेन्द्रशमशेर राणालाई परमादेश जारी गर्न उक्साएर पछि महाभियोग लगाउने सुत्रधार त्यही माओवादीका अध्यक्ष प्रचण्ड हुन् ।

२०४६ सालको परिवर्तन पछि नेपालमा मुख्य दुईवटा शक्ति राजनीतिमा हावी छन्, एउटा प्रजातान्त्रिक खेमा जसको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ र अर्को वामपन्थी खेमा जसको नेतृत्व नेकपा एमालेले गर्दै आएको छ । यी दुई शक्तिमध्ये २०७४ को निर्वाचनबाट मुलुकको पहिलो दल बनेको नेकपा एमाले विभाजन भएको समयमा समेत एक्लै निर्वाचनमा नगएर देउवाले गठबन्धन गर्न थालेपछि अबको पछुताउने पालो देउवाको हो भन्न थालिएको हो।

माओवादी केन्द्रलाई साथ नलिए, एमालेतिर जान्छ भन्ने विश्लेषणका आधारमा आज नेपाली कांग्रेसको नेतृत्वले जे गरिरहेको छ, भोलिका दिनमा त्यो नेपाली कांग्रेस र त्यसको नेतृत्वका हिसाबले शेरबहादुर देउवालाई घातक हुने स्पष्ट छ।

माओवादी केन्द्र भर नभएको, सत्ताका लागि जे पनि गर्न सक्ने, जसो पनि गर्न सक्ने अवसरवादी दल हो । हिजो चोलेन्द्रशमशेर राणालाई परमादेश जारी गर्न उक्साएर पछि महाभियोग लगाउने सुत्रधार त्यही माओवादीका अध्यक्ष प्रचण्ड हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेससँग धेरै ठाउँमा चुनावी तालमेल गरेर पनि राम्रो परिणाम नआएपछि सत्ता साझेदार नेपाली कांग्रेसलाई छोडेर एमालेसँग चुनावी तालमेल गरेका, पछि एमालेसँग पार्टी एकीकरण समेत गरेका उनले एमालेकै एउटा समूहलाई पार्टीका विरुद्ध उचालेर घर न घाटको बनाउदैछन् । जीवनभर एमाले बनाउन हिडेका, वर्षौसम्म एमालेको मूल नेतृत्व लिएका, त्यही पार्टीका तर्फबाट सरकार प्रमुख बनेकाहरूलाई आज पार्टीबाट छुटाएर आफ्नो पुच्छर बनाउन सकेका प्रचण्डले अब कमण्डलु लिएर हिड्ने बनाउने पात्र भनेको शेरबहादुर देउवा हो भन्ने कुरामा कुनै शंका छैन ।

यतिबेला गठबन्धनमा आवद्ध दलहरू आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा केन्द्रीत छन् । यो बाँडफाँडमा प्रचण्ड हावी हुने निश्चित छ, उनी हावी हुने सिट बाँडफाँड न्यायोचित नहुनेमा नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ता चिन्तित छन् ।

प्रचण्ड आगामी निर्वाचन पछि माओवादी केन्द्रको सहयोग बिना सरकार बन्न नसक्ने गरी निर्वाचनको परिणाम ल्याउने ध्याउन्नमा छन्, सत्ताको मुल चावी आफूले लिने र अरूलाई खेलाउने उनको रणनीतिका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति देउवा बनिरहेका छन् । हिजो ओली नेतृत्वको सरकार हटाएर सत्ता निर्माणको नेतृत्व लिन चोलेन्द्र शमशेर राणालाई उपयोग गरेर पछि महाअभियोग लगाए जस्तै देउवाको काँधमा चढेर आगामी निर्वाचनबाट सत्ताको नेतृत्व गर्ने योजनामा रहेका प्रचण्डले अब सिध्याउने पात्र देउवा बाहेक अरू होइन ।

राजनीतिक यात्रामा आन्तरिक रूपमा होस वा बाह्य रूपमा एकलाई उपयोग गरेर अर्कोलाई हिर्काउन सिपालु प्रचण्डले आफ्नै दलका धेरै नेतालाई सिध्याए, कुनै समय गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति घोषणा गरेर हुन नदिएका मात्रै होइन, एमालेका दुईजना पूर्व प्रमुखहरुलाई काजमा हिडाले । उनले नसकेको एकजना मात्रै केपी शर्मा ओली हुन् । केपी ओलीलाई सिध्याउने उनको रणनीति सफल हुन सकेन्, अर्थात पछिल्लो राजनीतिमा प्रचण्डलाई ब्रेक लगाउने पात्र केपी शर्मा ओली मात्रै देखिए ।

केपी ओलीलाई सडकमा पु¥याउने उनको चाहनालाई ओलीले धुलिसात पारिदिए, यद्यपी प्रधानमन्त्रीबाट भने उनले हटाए । नेकपा हुँदा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट मात्र होइन संगठित सदस्यबाट समेत हटाउने दुस्साहस गरेका प्रचण्डले आगामी दिनमा देउवालाई कुन ठाउँमा पु¥याउने हुन भन्न सकिन्न ।

कुनै दिन मुलुकको सवैभन्दा ठूलो पार्टी, संसदीय इतिहासमा आफूलाई पुरानो र पूर्ण प्रजातान्त्रिक मान्ने नेपाली कांग्रेस यतिबेला गठबन्धन बिना चुनावमा जान सक्ने अवस्थामा छैन । मुख्य प्रतिस्पर्धी दल एमाले विभाजन भएको यो अवस्थामा एक्लै लड्न नसक्ने कांग्रेस आगामी दिनमा कसरी एक्लै लड्न सक्छ, सधैंभरि साहरा पाउने पनि त अवस्था हुँदैन ।

आगामी निर्वाचनमा प्रचण्डको सारथी बनेर प्रचण्डलाई नै सत्ताको प्रमुख हिस्सेदार बन्न सघाउने देउवाको यो निर्णय देउवाकै लागि किन गलगाड बन्दैछ भने प्रचण्डले आफूले भने जस्तो भएन भने देउवालाई विभिन्न आरोप लगाएर एमालेसँग सत्ता साझेदार गर्नेछन् । उनी अहिले नै त कांग्रेसको विकल्प एमाले भन्दैछन् भने भोलि उनले भने जस्तो भएन भने पक्कै एमालेतिर लाग्ने छन् त्यो बेला देउवा सत्ता सहयात्राबाट मात्र बाहिरिने छैनन, उनलाई नेपाली कांग्रेसको एउटा समूहले यसरी पेल्ने छ कि उनी अहिलेको चोलेन्द्र भन्दा पनि कमजोर भएर गिडगिडाउने दिन नजिकै छ ।

कुनै समय मुलुकको सवैभन्दा ठूलो पार्टी, संसदीय इतिहासमा आफूलाई पुरानो र पूर्ण प्रजातान्त्रिक मान्ने नेपाली कांग्रेस यतिबेला गठबन्धन बिना चुनावमा जान सक्ने अवस्थामा छैन । मुख्य प्रतिस्पर्धी दल एमाले विभाजन भएको यो अवस्थामा एक्लै लड्न नसक्ने कांग्रेस आगामी दिनमा कसरी एक्लै लड्न सक्छ, सधैंभरि साहरा पाउने पनि त अवस्था हुँदैन ।

जीवनको उत्तराद्र्धमा कांग्रेस सकेको आरोप बेहोर्नका लागि देउवा किन तयार छन्, एउटै कारण छ उनी आफूपछि आफ्नो अनुकुलको नेतृत्व स्थापित गर्ने योजनामा छन्, ठ्याक्कै भन्दा उनी आगामी संसदबाट आधा कार्यकाल पत्नी आरजु राणा देउवालाई प्रधानमन्त्री बनाएर पार्टी र सत्तामा स्थापित गर्न चाहन्छन् । उनको यो योजना पूरा गर्नका लागि प्रचण्ड यतिबेला मुख्य सारथी भएका छन् उनका लागि ।

आरजुलाई सत्तामा स्थापित गर्नका लागि उनलाई कांग्रेसको एउटा समूहलाई किनारा लगाउनु छ, त्यसका लागि प्रचण्ड एण्ड कम्पनीलाई साथ लिनु उनको बाध्यता हो । आरजुलाई सत्तामा स्थापित गराउदै छोरालाई राजनीतिमा ल्याउने देउवाको परिवार मोहका कारण यतिबेला कांग्रेस सिद्धान्तहिन, लक्ष्यविहिन र सत्ता केन्द्रीत हुँदैछ ।

देउवाले २०७४ को निर्वाचनमा केपी ओलीले आफ्नो प्रतिकुलका नेताहरू उमेदवार हुन सक्ने संभावित ठाउँमा माओवादीलाई सिट दिएर करीब करीब एकलौटी गरेको जस्तै कांग्रेसलाई गराउने योजनामा छन् जसका लागि प्रचण्डको साथ बाहेक त्यो संभावना छैन ।

सत्ता र परिवार मोहका कारण यतिबेला देउवा जसरी एकसुरे बनेका छन्, भोली प्रचण्डले साथ छोड्दा देउवा बल्ल छागाबाट खसेजस्तै हुनेछन् ।

कांग्रेसकै सहयात्रीहरूलाई किनारा लगाएर प्रचण्डको आडमा नेपालको राजनीतिमा परिवारवाद लाद्ने देउवाको चाहनामा तुषारापात गर्ने पात्र प्रचण्ड नै हुने कुरा निश्चित प्राय छ ।