अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्की -३ मा जगत कि जगन्नाथ ?

कास्की -३ मा जगत कि जगन्नाथ ?


पोखरा- नेकपा एमालेको गढको रुपमा रहेको कास्की क्षेत्र नं ३ मा यसपाली पनि एमालेबाट टिकट हत्याउनका लागि ‘दुई ज’ अर्थात जगत विश्वकर्मा र जगन्नाथ बास्तोलाबीच तिव्र प्रतिष्पर्धा हुने भएको छ । यी दुईको प्रतिष्पर्धामा तेस्रो व्यक्तिले टिकट लिने सम्भावना पनि उत्तिकै छ ।
प्रोटोकलका हिसाबले विश्वकर्मा नेकपा एमालेका पोलिटव्यूरो सदस्य हुनुहुन्छ भने जगन्नाथ प्रदेश कमिटी सदस्य । पार्टीले विक र बास्तोला सहित नौ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । विश्वकर्मा केपी ओली सरकारका पालाका युवा तथा खेलकुद मन्त्री हुनुहुन्थ्यो । केन्द्रीय नेता भए पनि केन्द्रीय राजनीतिमा खासै पकड नभएका विश्वकर्मा शालिन नेताका रुपमा चिनिनुहुन्छ ।
उता युवा नेता बास्तोला पार्टीबाट पटक पटक आफू अन्यायमा परेको बताउदै आउनु भएको छ । २०७४ को निर्वाचनमा पार्टीका केही नेताले प्रदेशसभामा निर्वाचन लड्न सुझाए पनि प्रतिनिधीसभामा नै प्रतिष्पर्धा गर्ने अडान लिएका बास्तोलाले अन्तिममा जगत विश्वकर्माको प्रचारक बनेर हिड्नु परेको थियो । टिकटका लागि पोखराबाट काठमाडौं हुँइकिएर आएका बास्तोलालाई अध्यक्ष केपी शर्मा ओलीले ‘पार्टीको पोलिटव्यूरो सदस्यले उठ्छु भन्दा भन्दै तपाईंलाई कसरी टिकट दिंउ ?’ भनेर फर्काएको बास्तोलाको भनाइ छ । ‘गत निर्वाचनमा अध्यक्षकोज्यूको निर्देशन पालना गरेर म चुनावी प्रचारक भएर खटें ’ बास्तोला भन्नुहुन्छ ‘अवसरलाई बाँडचुँड गर्नु पर्दछ । सधैं एकैजना व्यक्तिले मात्र अवसर पाउनु हुन्न । त्यस कारण यसपटक जगतजीले मलाई सहयोग गर्नु पर्दछ । ’
कास्कीको क्षेत्र नं ३ मा माछापुच्छे्रे,अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरका ११ वटा वडा पर्दछन् । जसमध्ये अन्नपूर्ण र पोखराका चार वटा वडा एमालेले जितेको छ । बाँकी तीनवटा वडामा एमालेले अध्यक्ष हारेको तर सदस्यमा अत्याधिक मत ल्याएको छ । स्थानीय पार्टी ति छरिएका मतहरुलाई एकै ठाउँ बटुल्न प्रयासरत भएको नेताहरु बताउछन् ।
तर यस क्षेत्रमा अर्का नेताको पनि शसक्त दाबी भएको पोखरेलीहरु बताउछन् । पार्टीका प्रदेश सचिवालय सदस्य गणेश गुरुङलाई पनि पार्टीले अघि सार्न सक्ने आंकलन गरिएको छ । एमालेकै पूर्व नेता गुरुङ केही वर्ष संघीय समाजवादी पार्टीमा बसेर डेढ वर्ष अघि एमाले प्रवेश गर्नुभएको हो ।
कास्कीका सहइन्चार्ज भीम कार्कीका अनुसार क्षेत्र,जिल्ला र प्रदेशले नामहरु सिफारिस गरेर केन्द्रमा पठाएको छ । उम्मेद्वारका सवल र सुधार गर्नु पक्षको विष्लेषण केन्द्रीय सदस्यहरुले गरिरहेका छन् । ‘केन्द्रीय सचिवालयका नेताहरुले आफैं पनि व्यक्तिका सवल र दुर्वल पक्षको जानकारी लिइराख्नु भएको छ’ कार्की भन्नुहुन्छ ‘यसपाली गठबन्धनसँग भिडेर जित निकाल्नु पर्ने भएकोले सुझबुझका साथ उम्मेद्वारी दिएर कास्कीमा एमालेको झण्डा फहराउछौं । ’