अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई २६ वटा आरोप लगाउँदै एसका प्रदेश सदस्य भरत कार्कीद्वारा पार्टी त्याग

माधव नेपाललाई २६ वटा आरोप लगाउँदै एसका प्रदेश सदस्य भरत कार्कीद्वारा पार्टी त्याग


काठमाडौ – नेकपा समाजवादी प्रदेश १ कमिटीका सदस्य भरतबाबु कार्कीले माधव नेपाललाई २६ वटा आरोप लगाउँदै पार्टी त्याग्नु भएको छ ।
कार्कीले एक विज्ञप्ती जारी गर्दै माधव नेपाल नेतृत्वको पार्टीले एक वर्षमा पनि पार्टीको आकार ग्रहण नगरेको बताउनुभएको छ । ‘यो पार्टी भन्दा पनि असन्तुष्टको जमात जस्तो देखियो’ कार्कीको विज्ञप्तीमा उल्लेख छ ‘ केन्द्रिय तहका नेताहरुमा मन्त्री पद छोड्नु पर्दाको रुवाबासी र नपाउदाको हुटहुटीले आम जनतामा अत्यन्तै नकारात्मक धारणा रहेकोले यो पार्टीमा बसिरहन मेरो अन्तरमनले मानेन ।’
शसस्त्र प्रहरी बलका पूर्व एसपी कार्की नेकपा एसको पक्षपोषण गर्न र एमालेलाई प्रहार गर्न लामो समय देखि सक्रिय हुनुहुन्थ्यो । उहाँ गतवर्षको मंसिर महिना देखि प्रदेश कमिटीमा हुनुहुन्थ्यो । तर स्थानीय निर्वाचनको तयारी उम्मेद्वारी छनौट आदि कुनै पनि विषयमा अहिलेसम्म एउटै पनि बैठक नबसेकोले यो असन्तुष्टहरुको झुण्डले पार्टीको आकार ग्रहण नगर्ने कार्कीको निष्कर्ष छ ।
कार्कीले माधव नेपाल र नेकपा एसलाई ‘एक थान राजिनमा पत्र’ भन्दै लगाएका २६ वटा आरोप यस्ता छन् ।

एक थान राजिनामा पत्र
श्रीमान अध्यक्ष ज्यु,
बिषय : राजिनामा पेस गरेको सम्बन्धमा ।
नेकपा (एकीकृत समाजबादी), प्रदेश कमिटी ,१ नं प्रदेश ।
महोदय,
उपरोक्त बिषयमा गत बर्षको मङ्सिर महिनाबाट मलाई नेकपा एकीकृत समाजबादीबाट प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएकोमा आज कै मितिबाट प्रदेश कमिटी सदस्य लगायत सम्पुर्ण जिम्मेवारीबाट साथै पार्टीको साधारण सदस्य समेतबाट आफुलाई मुक्त गरेको ब्यहोरा जनाउदै सन्जाल मार्फत यो राजिनामा पत्र पेश गरेको छु । यो राजिनामा हठातको निर्णय नभै केही महिनाको स्वमुल्याङ्कन र स्वमन्थनको आधारमा दिएको र पार्टीबाट अलग हुनुको केही कारण बुदाँगत रुपमा पेस गरेको छु ।
१. बिभाजनको औचित्यता पुस्टी हुन नसक्नु ।
२.नागरिकता बिधेयक , ःऋऋ र क्एए जस्ता रास्ट्रिय हित बिपरितका बिधेयक र सन्धी सम्झौताहरु व्यापक जन बिरोध हुदा हुँदै पार्टी समर्थनमा रहनु वा मुकदर्सक हुनु ।
३. केन्द्रिय तहका नेताहरुमा मन्त्री पद छोड्नु पर्दाको रुवाबासी र नपाउँदाको हुटहुटीले आम जनतामा अत्यन्तै नकारात्मक धारणा रहेको ।
४. १ बर्ष सम्म पार्टी , पार्टी बन्न नसकेको । केवल असन्तुष्टहरुको जमात जस्तो रहेको ।
५ .केन्द्रिय नेताहरु केन्द्र मै सत्ता मोहमा रमाएको जिल्ला प्रदेशमा संगठन निर्माण सुस्त र लगभग शून्य अवस्थामा रहेको ।
६ .स्थानीय निर्बाचनमा सिट बाँडफाँडमा काङ्ग्रेस र माओवादीबाट अपमानित हुदा पनि नेतृत्व निरीह बनेको ।
७. माओवादीसङ्ग पार्टी एकता (विलय ?)गर्न पहल सुरु भैसकेको । ( चुनाव अगाडी गर्दा अधिकाङ्स नेता कार्यकर्ता नजाने भएकाले रोकिएको)
८. स्थानीय निर्बाचनमा पार्टीले आर्थिक, भौतिक व्यबस्थापन गर्न नसकी उम्मेदवारहरु निरीह बनेको ।
९.गठबन्धनबाट पहिलो शक्ति काङ्ग्रेस हुने र पुन छैटौं पल्ट शेरबहादुर नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको र देशको अझ दुरावस्था हुने सम्भावना ।
१०.माओवादीसङ्ग पार्टी बिलय हुदा पार्टीका र आम कार्यकर्ताको भबिष्य र अस्तित्व समाप्त हुने ।
११.कमिटीमा नियुक्तिहरु योग्यता क्षमताका आधारमा नभै सामिप्यता र मोलाहिजाबाट हुने गरेको ।
१२.प्रदेश कमिटीको हालसम्म एउटै मिटिङ नबसेको
१३. गठबन्धनको औचित्यता कुनै विशेष समयका लागि मात्र हुनु पर्नेमा सत्ता प्राप्तिको भर्याङ भनाइएको ।
१४.आम जनमानस र सामाजिक सञ्जालमा पार्टीप्रती अत्यन्तै नकारात्मक धारणा रहेको । मन्त्रीहरु ब्यक्तिगत स्वार्थमा लिप्त रहेका । आम कार्यकर्ताको काम केही नगरेको । पार्टी सत्तामा रहेको महसुस नभएको ।
१५ .नेतृत्वको अर्कमण्यताले पलायन र निस्कृयता बढेको ।
१६.निर्वाचन पछि ०५६ सालको बामदेब सिपिको मालेको स्थिति हुने प्रबल सम्भावना ।
१७. क्षमताबान नेतागणहरु ( १० भाइ लगायत ) बिभाजनमा नआएकाले पार्टी लङ्गडो जस्तो भएको ।
१८. पार्टी बिभाजन ब्यक्तिगत कुन्ठा र महत्वाकांक्षाको उपज देखिएको ।
१९.गठबन्धन बाट बन्न सक्ने आगामी सरकारले अझ देश जनता को प्रतिकुल काम गर्न सक्ने सम्भावना रहेको त्यसको भागिदार हुन आफू नसक्ने।
२०. चुनावी गठबन्धनले बाम एकताको सम्भावना टरेको
२१. गठबन्धनमा,काङ्ग्रेसले आँउदो निर्वाचनमा भोट लिने तर नदिने स्पष्ट देखिएकोले प्रत्यक्षमा जित्ने सम्भावना न्युन रहेको ।
२२.नीति सिद्धान्त हैन रास्ट्रपति मन्त्री र नियुक्तिहरुमा भागबन्डामा लालायीत देखिएको ।
२३. सरकार असङ्लग्न परराष्ट्र नीति र पञ्चशिलको सिद्धान्त बमोजिमको विदेश नीतिबाट बिस्तारै बिमुख हुँदै गरेको ।
२४. प्रहरी प्रसासन तथा कर्मचारीतन्त्रमा व्यापक हस्तक्षेप । कर्मचारी हरुको मनोबल गिर्दो ।
२५.देश आर्थिक दिबालिया हुने सम्भावना । सरकारसङ्ग आर्थिक संकट पार लगाउने स्पष्ट नीति नभएको । व्यापारी र ठेकदारहरुले अर्थ ब्यबस्था चलाउने गरेको । बजेट निर्माणमा समेत ब्यापारीका प्रतिनिधिहरु सङ्लग्न।
२६.काङ्ग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजालले बालुवाटार ललिता निवास जग्गा प्रकरणमा माधब नेपाललाई जोगाउन चोलेन्द्रलाई महाअभियोग लगाइएको हो भनेर सार्वजनिक रुपमा भन्दा पनि यसको खण्डन नआएको । या खण्डन गर्न नसकेको ।
माथी उल्लेखित बिमतिहरुका कारणले आफुलाई अझै पनि पार्टी सदस्य भै रहन अन्तरमनबाट अस्वीकार भएकाले यो राजिनामा लेख्ने काम गरेको छु । आसा छ यसैलाई आधार मानी राजिनामा स्वीकृत गर्नु हुनेछ ।
– भरत बाबू कार्की
सदस्य , १ न प्रदेश कमिटी , नेकपा समाजबादी ।