अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हृदयेश त्रिपाठी र चन्द्रदेव जोशीको पार्टीबीच चुनावी तालमेल गर्ने सहमति

हृदयेश त्रिपाठी र चन्द्रदेव जोशीको पार्टीबीच चुनावी तालमेल गर्ने सहमति


काठमाडौं – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले सो निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएको औपचारिक जानकारी गराएका हुन्। सहमति अनुसार नेकपा (संयुक्त)ले पनि जनता प्रगतिशील पार्टी, नेपालको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुनेछ।

दुवै पार्टीको सहमतिमा मात्रै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नामावली तय गर्ने सहमति पत्रका उल्लेख छ ।

अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल गर्दै अघि बढ्ने योजना अनुसार नेकपा (संयुक्त) सँग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्वीकार गरेर जाने बताउनु भयो ।

नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले समान विचारधारा भएकाले आफूहरुले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय लिएको बताउनु भयो । उहाँले निर्वाचनपछि आउने नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पनि आफूहरूबीच सहमति रहेको बताउनु भयो ।