जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने बताउनु भयो ।
आज जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताउनु भयो ।
‘नेकपा एमालेको सरकार मंसिर ४ गतेको निर्वाचनबाट गठन गर्नु अनिवार्य छ,’ ओलीले भन्नुभयो, ‘यदि एमालेले सरकार बनाउन नसके देश बर्बादीतर्फ जान्छ । पछिल्लो १४ महिनामा गठबन्धन सरकारले देशलाई बर्बादीतिर लगेको छ । त्यसकारण अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन हुँदैन ।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सरकारमा जानका लागि होइन, देश बचाउन, विकास गर्न, सबै ठाउँमा बस्ने जनताको सद्भाव र एकताका लागि एमालेले जित्नुपर्छ ।’
शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्ने योजना एमालेले अघि सारेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनले सही सरकार दिन सक्नुपर्छ । देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्छ ।’
गठबन्धनले सबैको भोट संकलन गरेर बहुमत पुर्याउने खेल खेलिरहेको आरोप लगाउँदै उहाँले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरुका लागि केन्द्रित रहेको बताउनुभयो ।











प्रतिक्रिया