पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति जनताको भरोसा रहेको बताउनु भएको छ ।
पोखरा सभागृहमा आज आयोजित पार्टी निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले केही गर्न सक्छ भन्ने आत्मविश्वास जनतामा रहेको बताउनुभयो ।
एमालेलाई जनताको साथ र आशिर्वाद रहेको उहाँको भनाइ छ। अध्यक्ष ओलीले आफू उद्घाटन र अधिवेशनका सिलसिलामा पुगेका जिल्लाहरुमा एमालेप्रति उत्साह देखिएको पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म जहाँ गएपनि जुन कार्यक्रममा गएपनि एउटा समानता छ- जनतामा उत्साह, जनतामा एमालेप्रति उत्साह छ, एमालेले केही गर्न सक्छ भन्ने आत्मविश्वास जनतामा छ, जनता आशावादी छन् ।’
९ लाख बढी सदस्य भएको एमाले जनताको पार्टी भएको पनि अध्यक्ष ओलीले बताउनुभयो । एमाले सबैको साझा पार्टी भएको भन्दै उहाँले पार्टी प्रवेश गर्नेहरुलाई उच्च सम्मानसाथ जिम्मेवारी दिइने बताउनुभयो ।
मंसिर ४ को चुनाव सामान्य चुनाव नभएर देशको भाग्य र भविष्य फैसला गर्ने चुनाव भएको पनि अध्यक्ष ओलीले बताउनुभयो । संविधान मिचिएको, भ्रष्टाचार बढेको अवस्था रहेको, सुशासन धरापमा परेको उहाँले बताउनुभयो ।
परमादेश सरकारले लोकतन्त्रलाई धरापमा पारेको अध्यक्ष ओलीले बताउनुभयो । गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको उहाँले बताउनुभयो । प्रतिपक्षीमाथि अनेक झुठो आरोप लगाइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । अहिलेको गठबन्धन सरकारले राष्ट्रियतामा खतरा पुर्याइरहेको पनि बताउनुभयो ।
सत्ता जोगाएर लुटतन्त्र मच्चाउने बाहेक गठबन्धनको अरु कुनै उद्देश्य नभएको अध्यक्ष ओलीले बताउनुभयो । देश र जनताप्रति गठबन्धनले बेवास्ता गरिरहेको समेत उहाँले बताउनुभयो ।
करका दर हेरफेर गरेर सोझै देशको ढुकुटी लुट्ने काम गठबन्धन सरकारले गरिरहेको पनि अध्यक्ष ओलीले बताउनुभयो । मंसिर ४ को चुनाव एमालेले जित्नैपर्ने बताउनुभयो । देश, जनता, लोकतन्त्र, शान्ति सुव्यवस्था, राष्ट्रियताको रक्षा, विकास र समृद्धिका लागि एमालेले संघ र प्रदेशको चुनाव जित्नैपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।






प्रतिक्रिया