अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन : अध्यक्ष ओली

माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन : अध्यक्ष ओली


पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावसम्म माधवकुमार नेपालसँग कार्यकर्ता नै नरहने बताउनु भएको छ ।

पोखरामा आज आयोजित पार्टी निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधवको पार्टी राष्ट्रिय पार्टीको हैसियतमा पुग्नै नसक्ने बताउनु भयो ।

माओवादी केन्द्रले भने मंसिर ४ मा एकपल्टलाई बल्लतल्ल राष्ट्रिय पार्टीको हैसियत जोगाउन सक्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डको पार्टीले थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टीको इज्जतसम्म जोगाउँछ, माधवको पार्टीले थ्रेस होल्ड पार गरेर ३ प्रतिशत ल्याएर संसद्‍मा पुग्दैन, एक सिटसम्म जिताइदिनू । यो भविष्यवाणी लेखेर राख्नुस्, चुनावसम्म माधव नेपालसँग खास कार्यकर्ता नै रहँदैनन् ।’

मतदाताले माधवलाई भाेटै नदिने दाबी गर्दै उहाँले भन्नुभयाे- ‘माधव नेपाललाई मतदाताले किन भाेट दिने ? कुन  कामका लागि भाेट दिने ? पार्टी फुटाए बापत ? एमालेकाे सरकार ढालिपाउँ शेरबहादुरकाे देउवाकाे नेतृत्वमा एउटा दिशाहीन काम नलाग्ने भ्रष्ट सरकार गठबन गरी पाउँ भनेर अदालतमा परमादेश गराएबापत भाेट दिने ? पार्टी फुटाएर एउटाे चाेइटाे लगेर दर्ता गरे बापत् ? प्रतिक्रियावादीकाे सेवामा सामेल भएर एमालेलाई तथानाम गाली गरे बापत् ?’

अध्यक्ष ओलीले केन्द्र र प्रदेशमा एमालेकाे सरकार ढाल्ने माधव नेपाललाई जनताले भाेट नदिने बताउनुभयाे । एमाले सरकार ढालेर कांग्रेस सरकार बनाएकाेमा माधवलाई  पारिश्रमिकवापत् सबै मिलेर एक सिट दिन सक्ने उहाँकाे भनाइ छ ।

अध्यक्ष ओलीले माधव नेपालसँग कुनै विचार नभएकाे पनि बताउनुभयाे । अहिलेकाे गठबन्धनमा रहेका दलले देश बर्बाद पारेकाे दुनियाँलाई थाहा भएकाे भन्दै उहाँले तीमध्ये माधव र प्रचण्ड रहेका बताउनुभयाे ।

माधवकाे पछि लाग्नेहरुलाई एमालेमा फर्किन पनि अध्यक्ष ओलीले आव्हान गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘भुलभुलैयामा परेर माधवतिर गएका साथीलाई म पार्टीमा फर्किन आग्रह गर्छु, समयमै पार्टीमा फर्किन र राष्ट्रलाघई रुपान्तरकाे बाटाेमा ल्याउन आउनुस् ।’

माधव नेपाल,झलनाथ र वामदेव गौतमले एमालेको सरकार ढाल्ने र प्रचण्डलाई पनि त्यसमा उकास्ने काम गरेका उहाँको भनाइ छ । एमालेको सरकार ढालेर कांग्रेसको पछि लागेका प्रचण्ड र माधव चोक्टा खान गएकी बुढी झोलमा डुबीजस्तै अवस्थामा रहेका बताउनु भयो ।