अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा ३६ भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरण

मोरङमा ३६ भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरण


काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गर्नुभएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा-६ का २७ भूमिहीन सुकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गर्नु भएको हो ।

मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपुर्जा वितरण गरिसक्ने गरी काम तिब्र पारिएको भन्दै २ वर्षभित्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान गरिसक्ने प्रतिवद्धता पूरा गर्ने बताउनु भयो ।

मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा गरीब पहिचान गर्ने तथा विपन्न घरपरिवारलाई राज्यसुविधा परिचयपत्र दिने र परिचयपत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरिब तथा विपन्न लक्षित सेवा सुविधासँग आबद्ध गर्ने काम अगाडि बढाइएको जानकारी दिनु भयो ।

भएका स्रोत र साधनको समुचित प्रयोग गरी कृषि योग्य भूमिको उत्पादन र उत्पादकत्व बढाई सहकारी मार्फत आयात प्रतिस्थापन गर्ने र सम्भव भएसम्म निर्यातलाई प्रवर्द्धन गरेर देशमा रोजगारी सिर्जना गरेर गरिवी निवारण गर्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको पनि उहाँले बताउनु भयो ।