काठमाडौं – काठमाडौं महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ ।
नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यवसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो ।
यसैगरी २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ् र सेडव्याक हटाएको छ ।
‘पार्किङ प्रयोजनका लागि निर्माण भएका संरचनाहरुमा पार्किङ नै गराउनु पर्छ । यसअघि आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगर्दा अहिलेको भयावह अवस्था आएको हो । यसलाई वेवास्ता गर्नु भनेको सहरलाई थप बिगार्नु हो । यसो भयो भने हाम्रा पुस्ताले हामीलाई राम्रो मान्दैनन् ।’
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) कारवाहीका विषयमा भने, ‘नक्सा स्वीकृत गर्ने बेलामा व्यक्ति तथा संस्थाले महानगरबाट सुविधा लिएको तर, आफूले महानगरसँग गरेको कवुलियत तथा सर्त पूरा नगरेकाले कारवाही गर्नुपरेको हो ।’
वेसमेन्ट तथा जमिन तलालाई पार्किङ्का रुपमा खाली गराइएका ठाउँहरुमध्ये वडा नं. १ दरबारमार्ग २ वटा भवन छन् । यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा नं. १४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ ।
वडा २६ सामाखुशीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्च्युरी बैङ्क परिसरभित्र रहेका अनधिकृत पसलहरु हटाइएका छन् । वडा नं. १० बानेश्वरमा पर्ने ५ जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर ५ वटै घरको पार्किङ् बनाउने काम भएको छ । यसै गरी अल्फा विटा कम्प्लेक्सको भुमिगत तलामा ताला लगाइएको छ । यही वडाका बर्गर हाउस, यूएफओ, रारा कम्प्लेक्स र जी सपले महानगरको सूचना पालना गर्दै अनधिकृत संरचना र अनधिकृत उपयोग हटाएका छन् ।
वडा नं. २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङ्का लागि खाली गरिएको छ । यही वडामा रहेको आरवी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । बीरा कम्प्लेक्सको भूमिगत तलामा रहेको होलसेल पसल हटाएर गोदाम मापदण्डबमोजिम सञ्चालन गर्ने सहमति गरिएको छ । वडा नं. २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ ।
प्रतिक्रिया