अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले अध्यक्ष बनाएर छेउमा राखेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे : अध्यक्ष ओली

मैले अध्यक्ष बनाएर छेउमा राखेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घात गर्न खोजेपछि नयाँ ढंगले पार्टी अघि बढेको बताउनु भएको छ ।

प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले दिएको संख्यालाई प्रचण्डले बहुमत जुटाएर पार्टीबाट आफैंलाई निष्कासन गर्न खोजेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरै सिटको छेउमा राखेको थिएँ । मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन । प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ। नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’

उहाँले भन्नुभयो, ‘अस्ति कता भिडिओमा हेर्दै थिएँ, केपी ओलीलाई त मैले साधारण सदस्यबाटै निकालेको थिएँ भनेर प्रचण्ड गर्व गर्दै थिए । कस्तो व्यक्तिलाई मैले विश्वास गरेर पार्टी एकता गरेछु अहिले अचम्म लाग्छ । मैले दिएको बहुमत मविरुद्ध नै प्रयोग गर्न खोज्ने । म भन्दै थिएँ, पर्खिनुस् महाधिवेशनबाट अध्यक्ष बनाउँछु। तर, उहाँ भने मसँग बहुमत पुगिसक्यो भनेर निकाल्न तम्सिएछन् ।’

२०७४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गरेका एमाले र माओवादीले २०७५ जेठ ३ गते पार्टी एकता गरेका थिए। एकतापछि पार्टीको नाम ‘नेकपा’ राखिएको थियो ।