काठमाडौ- सरकारले स्वास्थ्य विमाको रकम अस्पताललाई भुक्तानी नगरेर धमाधम कार्यक्रम फिर्ता गरिरहेका बेला झापाको वि एण्ड सि अस्पतालले गरिबको स्वास्थ्य विमा आफैं गरिदिने भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सरकारले स्वास्थ्य विमा भनेर जनतालाई झुक्याउने र अस्पताललाई ठग्ने काम गरेको आरोप लगाउनुभयो । स्वास्थ्य विमाको सम्झौता गरेर महिनौंसम्म करोडौं रकम भुक्तानी नगरेपछि निजी अस्पताल सञ्चालकहरु समस्यामा परेको उहाँले बताउनुभयो । ‘दशैंपछि गरिवको स्वास्थ्य विमा म आफैं गरिदिन्छु । सरकारले जनतालाई झुक्याएको छ । अस्पताललाई ठगेको छ ’ प्रसाईंले पत्रकार सम्मेलन गरेर भन्नुभयो ‘मंसिर १ गतेबाट वि एण्ड सी अस्पतालले विमा कार्यक्रम सुरु गर्दछ ।’
आफ्नो अस्पतालले स्वास्थ्य विमाको ३० करोड रुपैंया वर्षौं देखि पाउन बाँकी रहेको प्रसाईंको भनाइ छ । प्रसाईंका अनुसार विमाका नाममा सरकारले सर्वसाधरणसँग पैसा उठायो तर अस्पताललाई तिरेन । ‘कुनै कामका लागि पैसा उठाउने तर त्यस काममाा खर्च नगर्नेलाई के भनिन्छ तपाईंहरु आफैं भन्नुन’ प्रसाईंले भन्नुभयो ‘गठबन्धन सरकार ठग हो ठग ।’
अस्पतालले ल्याउने विमा कार्यक्रमलाई ‘वि एण्ड सी जीवन बचाउ अभियान’ नाम दिइएको छ ।
प्रतिक्रिया