अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतमा अखिल सांस्कृतिक साँझ हुँदै

सुर्खेतमा अखिल सांस्कृतिक साँझ हुँदै


सुर्खेत-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुर्खेतले वीरेन्द्रनगरमा अखिल सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । आउँदो असोज १० गते अर्थात् घटस्थापनाका दिन सांस्कृतिक साँझ गरिने भएको हो ।

अनेरास्ववियुले आर्थिक विपन्नताका कारण शिक्षाबाट वञ्चित भएका विद्यार्थीलाई पढाइमा सहयोग गर्ने उद्देश्यले अखिल कोष स्थापना गर्ने तयारी गरेको छ । सोही कोषका लागि आर्थिक सहायता जुटाउन तथा विजया दशमी पर्वको अवसरमा मनोरञ्जन प्रदान गर्न अखिल सांस्कृतिक साँझ–२०७९ आयोजना गर्न लागिएको अनेरास्ववियु सुर्खेतका अध्यक्ष आशिष आचार्यले बताए ।

सुर्खेत सभा हल (सिटी हल)मा हुने सांस्कृतिक साँझमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याति कमाएका कलाकारहरूको सांगितिक प्रस्तुतिहरू रहनेछ । सांस्कृतिक साँझमा बहुचर्चित लोक गायक बद्री पंगेनीलगायतका कलाकारहरूलाई सहभागी गराउने तयारी भइरहेको आयोजक अनेरास्ववियुले जनाएको छ ।

कार्यक्रम असोज १० गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । सांस्कृतिक साँझ हेर्न टिकटको व्यवस्था गरिने बताइएको छ । उक्त कार्यक्रमको मुख्य प्रायोजक र प्रायोजक बन्न चाहने संघ–संस्था तथा निजी क्षेत्रहरूलाई सम्पर्क गर्न पनि अनेरास्ववियुले अनुरोध गरेको छ ।