काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि १ असोजको मध्यरातदेखि संसदको कार्यकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदलाई निर्देशन दिनु भएको छ ।
प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन एमालेको अन्तिम संसदीय दल बैठक बसेको हो । आजको बैठकमा ओलीले मात्रै सम्बोधन गर्नुभएको थियो । उहाँले प्रतिनिधिसभामा एमाले सांसदहरूले निभाएको भूमिको प्रशंसा गर्नुभयो ।
संकटका बेला पार्टीलाई साथ दिएको भन्दै उहाँले भन्नुभयो, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च गर्यो । तर हाम्रो लागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी संसदमा आउँदैनौं ।’
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिएका छन्। ओलीले भन्नु भएको छ, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पुर्याउन लाग्नुस् ।’
बैठकपछि सामूहिक फोटोसेसन गर्दै नेताहरू छुट्टिएका थिए ।





प्रतिक्रिया