काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सभामुख अग्निप्रसाद सापकोटाको कारण प्रभावकारी नरहेको टिप्पणी गर्नु भएको छ ।
सभामुख सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधिसभाको आफ्नो कार्यकाल प्रभावकारी हुन नसकेको उहाँको आरोप थियो।
आज संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता पोखरेलले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रभावकारी हुन नसकेको बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुःखद् रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो संसदलाई प्रभावकारी बनाउने कुरामा विभिन्न किसिमका समस्याहरु देखा परेको छन् । अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रुपमा भूमिका खेल्नुभयो कतिपय अवसरमा। त्यो बडो दुःखद् छ। त्यसकारणले यो प्रतिनिधिसभाले जे डेलिभरी दिनुपर्थ्यो, त्यो प्रभावकारी ढंगले दिन सकेन।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख सापकोटाकै कारण सरकारले गरेको काम, कारबाहीबारे जनतालाई सही सूचना दिने काम समेत प्रतिनिधिसभाबाट हुन नसकेको गुनासो गर्नुभयो ।
उहाँले आफ्नो पार्टीले भने सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा पनि संसदको भूमिकालाई सशक्त बनाउन सक्दो प्रयास गरेको बताउनु भयो ।





प्रतिक्रिया