बिर्तामोड – झापाको बिर्तामोडमा १२ वर्षअघि स्थापना भएको पाथीभरा इन्जिनियरिङ कलेजले पूर्वाञ्चल विश्वविधालयबाट सम्बन्धन प्राप्त गरेको छ । सम्बन्धन पाएसँगै दशैंतिहारको बिचबाट भर्ना खुला गर्ने कलेज प्रशासनले जनाएको छ ।
आठ वर्षअघि इन्जिनियरिङ काउन्सिलबाट सञ्चालन अनुमति पाएको सो कलेजले १२ वर्षको अन्तरालमा ठूलो क्षति व्यहोर्नु परेको छ । कलेजका सञ्चालक युवराज प्रसाईले करोडौं लगानी गरेर बसेको वर्षौपछि सम्बन्धन पाएको र अब चाँडैं पठनपाठन शुरु गर्ने बताउनु भयो ।
उहाँले १२ वर्षमा कलेजभित्रका धेरै सामग्रीमा समेत क्षति भएको बताउनु भयो । समयमा सम्बन्धन नपाउँदा ल्यावका सामग्री विग्रिए, ३५/४० लाखको सामान नै हरायो, प्रसाईले भन्नुभयो- ‘ढिलोछिटो सम्बन्धन पाइन्छ भन्ने आशाले नै बसेका थियौं । सम्बन्धन प्राप्त भयो । सबै सहयोगीप्रति आभार प्रकट गछौं ।’
ओली नेतृत्वको तत्कालिन सरकारले मन्त्रीपरिषद्बाट सम्बन्धन दिनलाई निर्णय गरेको थियो । त्यसपछिको सरकारले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन नगरेपछि सम्बन्धन पाउन ढिलाई भइरहेको थियो । कलेजका सञ्चालक प्रसाईले एमाले अध्यक्ष ओलीले शुरुदेखि कलेज सञ्चालनका लागि योगदान गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमाले नेता अग्नी खरेलले पछिल्लो समय सम्बन्धन ल्याउन धेरै प्रयत्न गर्नुभयो । उहाँहरुको योगदानबाटै कलेजले सम्बन्धन पाएको छ ।’
एमाले झापाका इञ्चार्ज खरेलले नागरिकको लगानीलाई बेहाल बनाउन नहुने बताउनु भयो । आफू कलेजका बारेमा जानकार रहेको उहाँको भनाई छ । जिल्लामा इन्जिनियरिङ कलेज स्थापना गर्नैपर्ने भएकाले सम्बन्धन ल्याउन धेरै जोडबल गरेको खरेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘१२ वर्षदेखिको प्रयासलाई सफल बनाएका छौं । प्रसाईजीले कुशल ढंगबाट कलेज सञ्चालन गर्ने विश्वास गरेको छु ।’
अर्जुनधारा ११ मा निर्माण गरिएको पाथीभरा कलेजले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्नेछ । कलेजले सबै विषयमा ४८/४८ जना विधार्थी पढाउन पाउनेछ ।
प्रतिक्रिया