अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समय युवाको हो,राजनीतिमा सदुपयोग गरौं

समय युवाको हो,राजनीतिमा सदुपयोग गरौं


काठमाडौं – नेपालमा जब जब आन्दोलन र निर्वाचनको समय आउँछ तब-तब युवाहरूको भूमिका र स्थानको चर्चा हुने गर्दछ । आन्दोलनमा मसाल र झण्डा बोक्न युवाहरूलाई अग्रसर गराइन्छ । उमेर अनुसारको जोस, आँट र जोखिम मोल्न सक्ने भएकोले आन्दोलनमा युवाको प्रयोग राजनीतिक दलहरूले अत्याधिक गर्ने गर्दछन् । यो अवस्थामा युवाहरूलाई राजनीतिक दल र त्यसको नेतृत्वले धेरै खोजेको हुन्छ । दोस्रो, निर्वाचनका समयमा चाहिं युवाहरूको चर्चा हुन्छ तर खोजी कम हुन्छ । यस्तो बेला युवाहरूले दलका नेता खोज्छन् तर नेताले युवालाई कमै खोज्ने गरेको यथार्थ सबैले भोगेकै हो । अहिले पनि निर्वाचनको चटारो छ नेपालमा । हिजो सबै दलहरूले समानुपातिक तर्फको नामावली निर्वाचन आयोगमा पेश गरिसके । त्यसमा युवाहरूले कति स्थान पाए त्यो सूची बाहिरिएपछि थाहा होला । प्रत्यक्ष तर्फ उम्मेद्वारको टुंगो लाग्न बाँकी छ । त्यसैले जनताको मन जितेर आउने ठाउँमा स्थान पाउन युवाहरूले हस्तक्षेपकारी भूमिका खेल्ने ठाँउ छ ।

राजनीतिक परिवर्तनमा युवाहरूको भूमिका

नेपालमा वि.सं. २००७ साल देखि राजनैतिक इतिहास, अग्रगामी रुपान्तरणको लागि क्रियाशिल भएको हो । १०४ वर्ष लामो वंशीय हुकुमी जहाँनिया राणा शासनको अन्त्य, निरंकुश पञ्चायत हुँदै राजतन्त्रको अन्त्य गर्नको लागि भएको राजनैतिक थुप्रै घटनाक्रमहरूमा र इतिहासका अन्य विभिन्न कालखण्डमा युवाहरूको ठूलो भूमिका देखिन्छ ।

राजनीतिक रुपान्तरण गर्न युवाहरुको जति भूमिका छ । सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणको लागि पनि युवाहरुको उत्तिकै भूमिका रहन्छ ।

नेपालका ठूला-ठूला राजनीतिक परिवर्तनमा युवाहरूको ठूलो योगदान छ । देशमा भएका हरेक ठूला आन्दोलनहरू युवा सहभागिताबिना असम्भव जस्तै थिए । २००७ सालमा जहानिया राणा शासन अन्त्यको क्रममा विरगति प्राप्त गर्ने अमर सहिदहरूदेखि हालसम्म भएका राजनैतिक आन्दोलनको अग्रभागमा उभिइ आफ्नो जीवन बलिदानी गर्न तत्पर हुने युवाहरू नै हुन् । राजनीतिक रुपान्तरण गर्न युवाहरूको जति भूमिका छ । सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणको लागि पनि युवाहरूको उत्तिकै भूमिका रहन्छ । खासगरी देशको विकास रोजगारी सृजना, उद्यमशिलता र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा युवा परिचालन गर्न सक्ने गरी नीति-निर्माण गर्नु आजको आवश्यक्ता हो र यो कार्य राजनीतिबाट मात्र सम्भव छ । युवाहरू भित्रको क्षमता पहिचान, युवा नेतृत्वको विकास र व्यवस्थापन गर्दै युवा जोस, सृजनशिलता, उर्जा, ज्ञान, सीप र दक्षतालाई देश विकासमा खर्चिनु पर्दछ जसको लागि युवाहरूलाई देशको नीति बनाउने ठाउँमा प्रतिनिधित्व गराई देशको राजनीतिमा आकर्षित गर्दै देश निर्माणमा साझेदार बनाउन जरूरी छ ।

समय युवा कै हो

नेपाल अहिले जनसंसखिक लाभको अवस्थामा छ । अर्थात् जनसंख्याको सवैभन्दा ठूलो हिस्सा युवाहरूको छ । जन्दर घटेको छ। मृत्यू दर घटेको छ । मानिसको औषत आयु बढेको छ । यसले गर्दा जनसंख्यामा काम गरिखान सक्ने उमेर समुहका (१५ देखि ५९ वर्ष)का मानिसहरुको बाहुल्यता पनि बढेको छ । देशका लागि यो सुनौलो अवसर हो । यसलाई एक जुगमा एकपटक आउने अवसर भनिन्छ । देशको यो अवस्थालाई स्वर्ण युग पनि भन्ने गरिएको छ । तर के हामीले समृद्धिबाहक युवाहरूलाई स्वदेशमा काममा उत्पादनमा लगाउन सकेका छौं ? यसतर्फ गम्भिर हुनु पर्ने जरुरी छ ।

युवाहरूमा नयाँ उर्जा, सृजनशिलता र राष्टप्रति जिम्मेवार हुनु सक्दैनन् भने उमेर युवा भए पनि उमेरमै त्यो मान्छे बुढो हो । उमेर मात्र युवा होइन, युवा एक सोच, उर्जा, आचरण विचार, कार्यशैली र अदम्य साहस पनि हो । सर्वहारा वर्गका प्रसिद्ध नेता माओले युवाहरूलाई लक्षित गर्दै भनेका थिए- ‘यो संसार तिमीहरूको पनि हो, हाम्रो पनि हो तर अन्त्यमा तिमीहरूकै हो ।’ वास्तवमा यो राज्यका हरेक असल खराब परिस्थितिको बलियो हकदार युवा नै हुन । युवाका आजका चुनौतीहरू असंख्य छन् । गुणस्तरीय, समय सापेक्ष र रोजगारमुलक शिक्षाको अभा, व्यवसायिक सीप र प्रविधिको न्यून पहुँच, कमजोर स्वास्थ्य, युवामैत्री लगानी र उद्यमशिल वातावरणको अभाव, लैगिक, क्षेत्रीय र जातीय असमानत, विश्वव्यापीकरण र उदारिकरणले ल्याएको नकारात्मक प्रभाव आदि आजका युवाका मुख्य चुनौती हुन् ।

उमेर मात्र युवा होइन, युवा एक सोच, ऊर्जा, आचरण विचार, कार्यशैली र अदम्य साहस पनि हो । सर्वहारा वर्गका प्रसिद्ध नेता माओले युवाहरुलाई लक्षित गर्दै भनेका थिए ‘यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो तर अन्त्यमा तिमीहरुकै हो ।’

विशेषगरि वेरोजगारी, युवा विदेश पलायन, कुलत दुुव्र्यसनी युवाका तत्काल समाधान गर्नुपर्ने चुनौतीहरु हुन् । उर्वर खेती योग्य जमिन सहितका गाउँका उजाड भएका छन्, गाउँका बस्तीहरु खाली हुन थालेका छन्, खेतबारीहरु बाँझिएका छन् । घर छोडेर युवाहरु तातो खाडीमा आफ्नो बल र पसिना विसाउदै छन् भने घरको बाँकी परिवारका सदस्य बालबच्चा बढाउने नाममा वा सुख काट्ने नाममा शहर बस्ने चलन बढेकोले गर्दा न बिदेशमा बसेर कमाएको पैसा नेपालमा उत्पादित ठाँउमा लगानी भएको छ न त हामीसँग भएका स्रोत साधनहरु नै उत्पादनमा प्रयोग भएको छ । देशमा रहेको भ्रष्टचार र प्रशासनिक ढिला सुस्ती देश विकासको लागि युवाका अर्को ठूलो चुनौती हो । समग्र देशमा रहेका समस्याहरु सबैभन्दा धेरै आजका युवाका चुनौती हुन्। यस्ता चुनौतीहरु राज्यस्तरबाटै सुधारिनु जरुरी छ । तर हाम्रो देशमा एकदम थोरै युवाहरु मात्र राजनीतीमा लाग्ने र राजनीतीमा सक्रीय थोरै युवाहरु पनि पुरानै ढर्रामा मात्रै नेताका ‘एसम्यान’ भइ आत्मकेन्द्रित कायैशैली मात्र पछ्याउने कारणले राजनीतिमा नयाँ, पढेलेखेका भिजन भएका वर्गको आकर्षण पछिल्लो समय झन् घट्दो छ ।

परिवर्तनका बाहक युवा

युवाहरू राष्ट्रको परिवर्तनगामी शक्ति हुन, त्याग निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाद्धारा प्रतिवद्ध युवाहरू राज्यका उदयमान शक्ति हुन । युवाहरू स्वभावैले जहिले पनि यथास्थितिबाट आफू र आफू रहेको समाजलाई माथि उठाउन चाहान्छन् त्यसैले सामाजिक रुपान्तरणको महाअभियानमा युवा वर्गको अहम भूमिका रहन्छ । नेपालको राजनीती इतिहासमा १९९६ देखिको राणा विरोधी आन्दोलनमा गंगालालहरुको अगुवाई, वि.सं. २००६ मा राणा शासन अन्त्य गर्ने आन्दोलन वि.सं. २०१५ को आम निर्वाचन माग गर्दै भएको आन्दोलन, १०१७ वि.सं., वि.सं. २०३६ र २०४६ को राजनीतिक आन्दोलन, २०५२ देखि संचालित शसस्त्र जनयुद्ध र वि.सं. २०६२/६३ को जनआन्दोलन आदि सबै खाले परिवर्तनगामी आन्दोलनहरुमा युवाहरुको योगदान अतुलनीय छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा इतिहासका कठिन मोडहरुमा जनमुक्ति जनजीविका र राष्ट्रिय स्वाधिनताका लागि युवा सधैं अग्रभागमा रहेर देशलाई पहरा दिइरहेका छन् । यसले के प्रष्ट हुन्छ भने युवा जागे देशमा ठुला-ठुला परिवर्तन सम्भव छ ।

यस हिसाबले देशमा विभिन्न खाले राजनितीक आन्दोलनबाट देशको व्यवस्था बदलिएको छ । एक तहको राजनितीक क्रान्ती सफल भई देशमा समावेशी धर्म निरपेक्षतासहित संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ । अबको पालो देशमा आर्थिक क्रान्तीको हो, जसको लागि युवाहरुकै संलग्न, सक्रियता, र नेतृत्वमा देश भित्र कै स्रोत साधन र जनशक्तिको उच्चतम परिचालनबाट राष्ट्रिय पुँजी निर्माण गरि देश मै रोजगार बृद्धि र उत्पादन क्षमता बढाउन आवश्यक छ ।

नेपाली पसिना विदेशको माटोमा

विडम्बनाको कुरा आजको दिनमा ८० लाख युवा विदेशी भूमीमा श्रम बेच्न बाध्य छन् ।  देश त्यहि रेमिट्यान्सको सानो अंशबाट देश चल्ने स्थिति जस्ताको तस्तै छ । आजको दिनमा देशको ठूलो जनशक्ति बाहिरिनुले अझै देशमा उत्पादन बढाउने, अयात प्रतिस्थापन गर्ने र देशको आफ्नो आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सपना धेरै पर धकेलिरहेको छ । युवा राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत हुन् । त्यसैले युवालाई राष्ट्र, राष्ट्रियता र जनताप्रतिको जवाफदेही र बफादार बनाइ राज्य संचालनको मुल नेतृत्वमा युवालाई समाबेश गराउनु पर्दछ । युवा सरोकारको विषयलाई सम्बोधन गरी सामाजिक र आर्थिक रुपान्तरण गर्न आजको युवालाई भोलिको लागि होइन आजकै लागि जिम्मेवारी प्रदान गर्नु पर्दछ । युवा शक्तिको प्रयोग आज नै गर्नु पर्दछ । जसबाट हरेक युवाहरुले ‘विकास र समृद्धि आफ्नै पालामा आफैंबाट, आफ्नै लागि’ भन्ने भावनाका साथ देश निर्माणमा क्रियाशिल रहन्छन् । यसबाट देशमा भएको जनसंख्याको ४०.३ प्रतिशत युवा जनसंख्या प्रेरित हुन सक्छन् ।

(लेखक गजुरी गाँउपालिका निवर्तमान उपाध्यक्ष हुनुहुन्छ )