बाँके – नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुखको पद समाप्त भएको बताउनु भएको छ ।
आज प्रेस चौतारी बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सांसद्को आयू सकिएसँगै सभामुखको पद स्वत: समाप्त भएको बताउनु भएको हो ।
नेता भट्टराईले अब अग्निप्रसाद सापकोटाले पदमा बसिरहनु लज्जाको विषय भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पद जाने, उहाँको पद नजाने कसरी हुन्छ ? म अहिले प्रतिनिधि सभाको सदस्य होइन, अनि उहाँ चाहिं कसरी सभामुख हुन सक्नुहुन्छ ?’
उहाँले २०४७ सालको संविधानमा सांसद्को आयू सकिए पनि सभामुखको पद रहने व्यवस्था भए पनि वर्तमान संविधानले त्यस्तो व्यवस्था नगरेको दाबी गर्नुभयो ।
उहाँले सभामुख सापकोटाले संविधान मिच्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘पद गइसकेको व्यक्तिलाई सभामुखको आसनमा बस्ने कुनै अधिकार छैन ।’
यसै सन्दर्भमा नेता भट्टराईले नागरिकता विधेयकको विषयमा मुलुकलाई विभाजित गर्ने काम भइरहेको बताउनु भयो । विधेयकका विषयमा फरक–फरक मत र तर्क आइरहेको भन्दै नेता भट्टराईले भन्नुभयो, ‘यो विधेयकले मुलुकलाई नै विभाजित गर्ने काम भइरहेको छ।’





प्रतिक्रिया