काठमाडौं – नेपाली कांग्रेसमा यतिबेला ठूलो विद्रोह सुरु भएको छ। पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाको समूहले विद्रोह थालेको हो ।
डा. कोइराला समूहले गत महाधिवेशनमा पदाधिकारीहरुसहित सभापति पदमा ४० प्रतिशत भन्दा धेरै मत ल्याउनु भएको थियो । कांग्रेसको परम्परा अनुसार पार्टीभित्रको प्रतिपक्षीलाई हरेक अवसरमा ४० प्रतिशत भाग दिइँदै आएको थियो । तर, हालका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका प्रतिपक्षीलाई वास्ता नगरी माओवादी र समाजवादीलाई भाग दिन थालेपछि कांग्रेसमा विद्रोह शुरु भएको हो ।
विद्रोही शेखर समूहले समानुपातिकमा ४० प्रतिशत हिस्सा माग्दै विद्रोह थालेको हो । विद्रोही पक्षका नेताहरुले आज काठमाडौंमा एक भेला राखी विद्रोहको घोषणा गरेका हुन् । उनीहरुले समानुपातिक सूची सच्याएर ४० प्रतिशत हिस्सा नदिइएमा सर्वत्र विद्रोही उम्मेदवार उठाउने भएका छन् ।
‘माओवादीलाई दिइएको सबै ठाउँमा हामी विद्रोही उठाउँदैछौं’ एक नेताले भन्नुभयो । उहाँका अनुसार विद्रोही उम्मेदवार बन्नेहरुको सूची तयार पार्ने काम भइरहेको छ ।
‘समानुपातिक टिकट वितरणमा सभापति शेरबहादुरजीको पत्नी आरजू देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हावी भएका छन्, हामी यो मान्दैनौं, कांग्रेसको टिकट माओवादी अध्यक्षले वितरण गर्ने कुरा हामी मान्न तयार छैनौं’ एक नेताले बताउनु भयो ।
डा.शेखर समूहका नेता तथा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी भने आफूहरुको सरोकार प्रचण्डसँग नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो माग सभापति शेरबहादुर देउवासँग हो ।’
विद्रोही समूहले शनिबार राजधानीमा विशाल भेला राखेको छ । सो भेलाबाट पार्टी सभापतिको एकलौटी र मनोमानी विरुद्ध कडा खबरदारी गरिने भएको छ । शनिबारको भेलापछि पनि सभापति देउवाले समानुपातिक सूची नसच्याएमा कडा विद्रोहमा उत्रने चेतावनी जगदीश्वर नरसिंहले दिनुभयो ।





प्रतिक्रिया