अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर कामेका छन् : अध्यक्ष ओली

एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर कामेका छन् : अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताउनु भएको छ ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको बताउनु भयो ।

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्।’  

अध्यक्ष ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसमा जहाँ नेपाली, त्यहाँ एमाले । देश भित्र मात्रै होइन, देश बाहिर पनि जहाँजहाँ नेपाली पुगेका छन्। त्यहाँ एमाले पुगेको छ। त्यसकारण जहाँ नेपाली, त्यहाँ एमाले।’