अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५० वर्ष अघिको वैंश निकालेर अधिनायकवाद विरुद्ध लड्न तयार छु : अध्यक्ष ओली

५० वर्ष अघिको वैंश निकालेर अधिनायकवाद विरुद्ध लड्न तयार छु : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि बलिदान दिन आफू तयार रहेको बताउनु भएको छ ।

पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघको प्रचार भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले ५० वर्ष अगाडिको वैश निकालेर अधिनायकवाद विरुद्ध लड्न तयार रहेको बताउनुभयो ।

गठबन्धन सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै उहाँले देश, जनता, राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि अहिले पनि आफूभित्र २०-२२ वर्षे जोश,जाँगर र संकल्प रहेको बताउनुभयो ।

एकपटक आफूले मेरो जुँगा कालै छ युवै छु भनेर भन्दा त्यसलाई लिएर २-४ महिना अनेक टिकाटिप्पणी भएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरा जुँगा अझै कालै छन्, मैले कालो घसेको होइन भन्दा कोही कोही आत्तिए, मैले जुँगा कालो छ भन्दा २-४ महिना त्यही जुँगाका पछाडि कुँदे, म आज पनि भन्छु- लोकतन्त्रको रक्षाका लागि, अधिनायकवादका विरुद्ध लड्नका लागि म ५० वर्ष अघिजस्तै छु, आवश्यक पर्‍यो भने ५० वर्ष अगाडिको वैंश निकालेर अधिनायकवाद विरुद्ध लड्न म अहिलेपनि तयार छु, ५० वर्ष अघिकै जोश जाँगर मसँग छ, मेरो पार्टीसँग छ ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा सरकारले खोसेको भन्दै अध्यक्ष ओलीले त्यो काम अधिनायकवादको पराकाष्ट भएको बताउनुभयो ।

आफूले कसैको पक्ष नलिएको भन्दै उहाँले गठबन्धन सरकारले गरेका गैरकानुनी र अधिनायवादी कामको विरोध गरेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले लोकतान्त्रिक गतिविधि गर्न सरकारलाई सचेत पनि गराउनुभयो। उहाँले प्रश्न गर्नुभयो- ‘एक दुई जनालाई लहड चल्यो भने लोकतान्त्रिक अभ्यास मिचेर गैरकानुनी ढंगले चल्न पाइन्छ ? जे पनि लाग्यो त्यहि गर्न पाइन्छ ?’