अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन नगरी एमालेसँग चुनाव लड्ने आँट कसैमा छैन: सचिव रायमाझी

गठबन्धन नगरी एमालेसँग चुनाव लड्ने आँट कसैमा छैन: सचिव रायमाझी


काठमाडौं – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नै नभएको दाबी गर्नुभएको छ ।

सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले कांग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि लगाउनु भयो ।

नेकपा एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन देशी/विदेशी प्रतिक्रियावादीहरुको इसारामा चलेकाले उनीहरुलाई नेपाली जनताले आगामी निर्वाचनमा परास्त गर्नुको विकल्प नभएको बताउनु भयो ।

सचिव रायमाझीले भन्नुभयो, ‘नेकपा एमालेसँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा गठबन्धनबाट पुष्टि हुन्छ। आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरु गठबन्धन आवश्यकता हो भनेर कांग्रेसको पुच्छर बनिरहेका छन्। गठबन्धन गरे पनि उनीहरुलाई सजिलो छैन । एउटा पार्टीभित्र त प्रत्यक्ष र समानुपातिक सिट बाँडफाँटमा समस्या भइरहेको छ भने उनीहरुलाई झन गाह्रो हुनेछ।’

सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने जिकिर गर्नुभयो ।