काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा उमेरले बुढो र युवा नहुने बताउनु भएको छ ।
एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले केपी शर्मा ओलीले गरेका काम कुनै युवा नेतृत्वले गरेकाभन्दा कम नभएको दाबी गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष भन्नुहुन्छ, ‘केपी शर्मा ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीकाभन्दा कम छैनन्। उहाँले गरेका काम कुनै तन्नेरीले गरेकाभन्दा राम्रा छन्। अध्यक्ष ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन् ।’
नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी एमाले भएको उहाँको भनाइ छ। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको उहाँले स्मरण गराउनु भयो । पोखरेल अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए।
उहाँले यसपटकको चुनावलाई लडाइँको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘यो निर्वाचनलाई केवल निर्वाचन मात्रै ठान्न हुँदैन। यसपटकको निर्वाचन लडाइँको रुपमा हाम्रो अगाडि छ, जुन लडाइँ हामीले जित्नैपर्छ। जित्नैपर्ने लडाइँको रुपमा हामी यो निर्वाचनमा छौं।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन। यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो। यो गठबन्धनको आपराधिक षड्यन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ ।’
पाँच दलीय गठबन्धनको कुनै भविष्य नरहेको उहाँको भनाइ थियो। स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए। तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो।’
नेता पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने दाबी गर्नुभयो । उहाँले एक लाखभन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन। त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ ।’





प्रतिक्रिया