काठमाडौं – नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा हिजोबाट सुरु चाडपर्व लक्षित बजार अनुगमनलाई आज पनि निरन्तरता दिनु भएको हो ।
महानगरपालिकाले आज कालिमाटीस्थित फलफूल तथा तरकारी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेको छ ।
उपेमयर डंगोलले आज पनि अनुगमनका क्रममा उपभोक्ताले ठगिएको महसूस गरेको अवस्थामा वा अखाद्य वस्तु बिक्री गरिरहेको भेटिएमा हाम्रो हटलाइन ११८० र १६६००१०५५११ मा खवर गर्न पनि आग्रह गर्नुभयो । उहाँले अनुगमनलाई दसैंअघि र पछि पनि निरन्तरता दिने बताउनु भयो ।
उपमेयर डंगोलले आज कालिमाटी र कुलेश्वर क्षेत्रमा अुनगमन गर्दा केही खाद्यान्न पसलमा म्याद गुज्रिएको खाद्य सामग्री भेटिएको र त्यसलाई जफत गरेको जानकारी दिनुभयो ।
अनुगमनका क्रममा केही खाद्यान्न पसलमा बिक्रीका लागि राखिएको सामानमा उत्पादन गर्ने कम्पनी र खानयोग्य भनी प्रमाणित गरेको प्रमाणित नम्बरसमेत प्रस्ट नभएको भेटिएको छ । उनीहरुलाई दुई दिनभित्र उत्पादन कहाँ भएको र कसले गरेको, खानयोग्य छ कि छैन सबै प्रस्ट पार्न निर्देशन दिएको उहाँले बताउनु भयो ।
दुई दिनभित्र त्यो प्रस्ट नभए कारबाही गर्नेसम्मको चेतावनी दिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अनुगमनका क्रममा कतिपय ठाउँमा राम्रो भेटियो, कतिपय ठाउँमा भने उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरबाही गरेको भेटियो । कतिपय खाद्यान्न पसलमा घुन लागेको चामल, चिउरालगायतका खाद्य सामग्री पनि भेटियो । ती सबै सामग्री जफत गरेका छौं ।’
अनुगमन गरिएको एक खाद्यान्न पसललाई जरिवाना नै गराउने गरी सामान जफत गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सामान जफत गरेका छौं । हामी थप परीक्षण गर्छौं र कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
उहाँले संगम स्वीटमा पनि अनुगमन गरेको जानकारी दिइन् । ‘त्यहाँ दुई वटा किचेन रहेको र एउटा किचेनमा प्रयोग भएको तेल शुद्ध भेटियो’, उपमेयर डंगोलले भन्न्भयो, ‘अर्को किचेनमा प्रयोग भएको तेल भने अशुद्ध भेटियो । विज्ञसहितको खाद्यको टोलीले परीक्षण गर्दा एउटा किचेनमा प्रयोग भएको तेल रातो बल्यो । त्यो भनेको प्रयोग नै गर्न नमिल्ने तेल भन्ने हुनेरहेछ ।’
उहाँले अनुगमनका क्रममा घुन परेको चामल चिउरालगायतका खाद्यान्न बिक्री गर्ने कालीमाटी-कुलेश्वरको डी एण्ड डी खाद्य सप्लायर्सको सामाना जफत गरिएको बताउनु भयो ।
प्रतिक्रिया