अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई शेखर समूहको चेतावनी : राजा बन्न नखोज्नू, २५ सिटमा खुम्चिनुपर्ला

देउवालाई शेखर समूहको चेतावनी : राजा बन्न नखोज्नू, २५ सिटमा खुम्चिनुपर्ला


काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नेता केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा काँग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न सक्दैन ।’

उहाँले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रुपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली काँग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

नेता केसीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीलाई राखेकोमा आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको आरोप लगाउनु भयो ।

उहाँले समानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा कांग्रेस २५ सिटमा खुम्चिनसक्ने बताउनु भयो ।

‘प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने, उहाँहरुको त्याग, मिहिनेत होला तर यसले राम्रो सन्देश दिँदैनु, उहाँले भन्नुभयो, ‘राजाको विरोध गरिरहँदा कांग्रेस भित्रै राजा त भएका होइनन् कांग्रेस २५ सिटमा सिमित हुने त होइन, त्यसकारण नेता सच्चिनुपर्छ। केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर त्यस्तो नियतका साथ उहाँहरु कुर्सीमा बस्नुहुन्छ भने त्यसको बिरोधमा उत्रिनुपर्छ।’

नेता केसी भन्नुहुन्छ, ‘अहिले शेरबहादुर देउवाज्यूको प्यानलमा विश्वकर्मा मात्रै आएको अवस्था छ । दुईजना पुरुष, दुईजना महिला विश्वकर्मा मात्रै रहँदा, दलितभित्र पनि समावेशी नहुँदा अहिले प्रधानमन्त्रीको क्वार्टरमा र सानेपामा छलफल चल्दा हामी जस्ताको आवाज त्यहाँ पुगेको छैन, पार्टी बिग्रिरहेको छ, भत्किएको छ । तर केन्द्रको नीति, निर्देशन हेर्दा समानुपातिकको सिफारिस गठबन्धन हराउने षडयन्त्रमा हुनुहुन्छ । केन्द्रमा केपी ओलीलाई गाली गर्ने तर जिल्ला जिल्लामा गएर नेकपा एमालेलाई हराउन सक्ने तागत छ जस्तो लाग्दैन ।’

त्यस्तै कांग्रेसका नेता युवराज पाण्डेले समानुपातिक उम्मेदवार छनोट गर्दा नेतृत्वले एकपक्षीय ढंगले अधिवेशनमा आफ्नो मतसँग नजिक हुनेलाई मात्रै प्रतिनिधि हुने खालको मौका दिएको आरोप लगाउनु भयो । उहाँले यसरी पार्टी भित्रै पक्ष, विपक्ष र भेदभाव हुनु गैर जिम्मेवारी भएको बताउनु भयो ।

त्यसैगरी अर्का नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भएपनि पार्टी भित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताउनु भयो । उहाँले मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभइ जनताको जीवन बदल्ने माध्यम भएको बताउनु भयो । पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने आश्वासन दिएको उल्लेख गर्दै उहाँले अहिले पार्टी सभापतिको बाटो हेरिरहेको र भेदभाव भएको खण्डमा आफ्नो आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

त्यस्तै काँग्रेस नेता अजयबाबु शिवाकोटीले समानुपातिक तर्फको उम्मेदवारको सूचीका कारण संस्थापन पक्षकै नेताहरु पनि विरोधमा गएको दाबी गर्नुभयो । उहाँले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताउनु भयो । उहाँले गठबन्धन अघि बढाउन टिकट वितरणमा संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

नेता शिवाकोटीले असोज २३ गतेबाट हुने प्रत्यक्ष तर्फको टिकट वितरणमा पनि न्यायोचित हुन नसके विरोध थप चर्किने बताउनुभयो ।

आज काठमाडौंस्थित एक होटलमा कोइराला पक्षधरका नेताहरुले चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका थिए । चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।