बागलुङ – चाडपर्व सबै नागरीकले समान हिसाबले मनाउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । समाजमा रहेको वर्गिय खाडलका कारण एक घरमा मासु पाक्दा अर्को घरम चुलो नबलने अवस्था रहेको भन्दै नेताहरुले चाडपर्वको समयमा हुँदा खाने र हुनेखानेहरुको बीचमा दुरी बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेकपा एमाले बागलुङले दशैं, तिहार, नेपाल संवत, छठ लगायतका पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेताहरुले उत्पादन घट्दा चाडपर्वको समयमा प्रयोगहुने खाद्यान्न आयात गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आएको बताएका छन् । जग्गा बाँझो राखेर खाद्यान्न खोज्न बजार झर्ने र गोठ खाली गरेर खसीबोका खोज्न हिमालपारी पुग्ने परिपाटीले महंगी थेग्नै नसक्नेगरी बढीरहेको नेताहरुको धारणा थियो ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य मनकुमारी केसीले चाडपर्वले सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्ने भन्दै भड्कीलो तरिकाले पर्व नमनाउन आग्रह गर्नुभयो । एमाले केन्द्रिय सदस्य गोविन्द नेपालीले परम्परागत पर्वहरुलाई आधुनिकताका नाममा भड्कीलो बनाइएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
एमालेकै अर्का केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले आफ्ना पर्व मनाउनका लागि समेत छिमेकी देशको उत्पादनमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज बजारमा हिमालपारीबाट आएका च्याङ्ग्राको मुल्य सुनिनसक्नु छ, गरीबले दशैं कसरी मनाउन सक्छ ? हामी आफैंले उत्पादन गर्ने चलन थियो । अहिले अर्बौको भेडाच्याङ्ग्रा हिमाल पारीबाट आउँछ, नेपालको सम्पत्ति उतै थुप्रिन्छ ।’
त्यसैगरी एमालेका केन्द्रिय सदस्य डा. सूर्य पाठकले सामाजिक मान्यताले सबैलाई जोड्ने बताउनु भयो । कार्यक्रममा नेताहरुले राजनीतिलाई स्वच्छ र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए । राजनीती पारदर्शी नभएसम्म राज्य व्यवस्था पारदर्शी नहुने भन्दै नेताहरुले निर्वाचनको समयमा स्वतन्त्र हिसावले मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सावित्रा राना, केन्द्रिय सल्लाहकार विभागका सदस्य नवराज पौडेल, नेपाली कांग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक गणेश पौडेल, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य शेखर खड्काले बोलेका थिए ।
एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण पुन मगरको स्वागत र उप-सचिव गणेश थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।












प्रतिक्रिया