अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करङनालीको तिरैतिर…

करङनालीको तिरैतिर…


काठमाडौं – २०७९ असारको जम्मा दुई दिन बाँकी थियो । बर्खे बिदामा खडेरी परेका कारण खेतीको काम नभएपछि घुम्न निस्कने विचार मनमा उब्जियो । बिहान ८ बजेतिर मित्र डम्बरलाई फोन गरियो ‘डम्बर सर फुर्सद हो ?’ उहाँले सकारात्मक जवाफ फर्काएपछि फेरी भनेँ ‘लौ त एक मुठी पैसा बोकेर आउनुहोस् दुई/चार दिन देश घुमौ ।’

पहिलोदोस्रो दिन : इलामबाट कोहलपुर हुँदै छिन्चु

अनि हाम्रो यात्रा शुरु भयो चुलाचुली इलामबाट मुगु जिल्लाको रारा तालसम्म । कर्णाली यात्राको योजना बारे परिवार, साथीभाइ कसैलाई केही पत्तो नदिई बाटो तताउने निर्णय गरियो । यसको कारण कर्णालीका बारेमा छरिएका थुप्रै नकारात्मक भ्रमहरु । कर्णालीतिर त भाषा नै बुझिन्न, बास माग्न नि गाह्रो हुन्छ किनकि नयाँ मानिस देखेपछि त्यहाँका मानिसहरु ढोका थुनेर घरभित्र लुक्छन् । बाटोको त कुरै नगरौ राजमार्गको नामै मृत्युमार्ग, अझ कठिन भूबनावटको कारण कम उब्जाउ हुने भएकाले अन्न पाउन गाह्रो, पाईहाले अत्यन्त महँगो आदि । यस्तै यस्तै सुनेका थियौं हामीले पनि । यी सबै कुराहरुलाई पैतालामुनी कुल्चिएर हामी निस्किया आफ्नै आँखाले कर्णाली नियाल्न । 

कोहलपुर एक चौराहा हो जहाँबाट पश्चिम लागे महाकाली दक्षिण लागे नेपालगन्ज पूर्वलागे मेची उत्तर पसे कर्णाली प्रदेशको सम्पूर्ण भूभाग पुग्न सकिन्छ ।  

असारको २९ गते दिउँसो २ बजे झापाको दमकबाट काकडभिट्टा-धनगढीको बसमा चढेर पश्चिमतिर लागेका हामी दुईजना भोलीपल्ट २ बजे बाँकेको कोहलपुर उत्रियौं । रारा ताल हिडेका हामी यहाँबाट उत्तर लाग्नु पथ्र्यो तर हामी नेपालगञ्ज हेर्न लाग्यौं दक्षिणतर्फ । सोलुको नाम्चे बजारसँग एउटै अक्षांस रेखामा पर्ने भएता पनि नाम्चे र नेपालगन्जको हावापानी ठीक बिपरीत छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने ठाउँको गर्मी चाख्न नेपालगन्ज गएका हामीलाई नेपालगन्जले आफनो सक्कली ब्यवहार देखाएन। नेपालगन्ज पुग्नासाथ घामलाई बादलले कमजोर बनाईदियो र हामीलाई एकछिन भुलायो । कारकाँदो, बीपी चौक आदि हुँदै नेपालगन्ज उपमहानगरपालिकाको पुछार जमुनाह नाका पुगेपछि दशगजाले छुट्याएको पारिपट्टीको रुपैडिया नघुमी फर्किन हुन्न भन्ने लाग्यो। रुपैडिया नेपालगन्जसँग जोडिएको सीमावर्ती भारतीय बजार हो जुन यु.पी. प्रान्तमा पर्दछ ।

दुई घण्टाको घुमाई पछि फेरि फर्कियौ कोहलपुर । कोहलपुर पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पर्ने भर्खर भर्खर जवानी चढदै गरेको शहर हो। पंचायत कालकै अन्त्यतिर ‘टाउन प्लानिङ गुरु योजना’ अन्र्तगत स्थापित आधुनिक शहर रे कोहलपुर ! कोहलपुर एक चौराहा हो, जहाँबाट पश्चिम लागे महाकाली दक्षिण लागे नेपालगन्ज पुर्वलागे मेची उत्तर  पसे कर्णाली प्रदेशको सम्पुर्ण भुभाग पुग्न सकिन्छ । साँझको समय, कोहलपुरको गर्मीलाई छल्ने विकल्प सोच्न लागेका हामी कर्णाली राजमार्गमा पर्ने सुर्खेतको छिन्चु बजार पुगेर बास बस्ने लक्ष्यका साथ माइक्रो बस चढियो ।

तेस्रो दिन: छिन्चुबाट वीरेन्द्रनगर

कोहलपुरबाट २ घण्टाको यात्रामा छिन्चु पुगियो । गेष्ट हाउस खोजेर खाना खाइ आनन्दले रात बिताएपछि बिहान उठेर छिन्चु वरपर घुमघाम गरियो । हाम्रा लागि खासै नाम नसुनिएको छिन्चु बजार निकै ठूलो रहेछ । छिन्चु खोला किनारमा अवस्थित भएर होला यसको नाम छिन्चु रहेको । सुर्खेत जिल्लाको छिन्चु त्यस्तो दोबाटे पहाडी बजार रहेछ जहाँबाट एउटा राजमार्ग विरेन्द्रनगर, दैलेख, कालिकोट, जुम्ला हुँदै मुगु जिल्ला पुग्छ भने अर्को बाटो पुर्वोत्तर दिशामा सल्यान, जाजरकोट, पश्चिम रुकुम हुँदै डोल्पा सदरमुकाम दुनै पुग्दछ ।

बिहान ९ बजे छिन्चु छोडियो । १० बजे पुगियो कर्णालीको राजधानी समेत रहेको विरेन्द्रनगर । विरेन्द्रनगर एउटा ठूलो उपत्यका, खेतियोग्य पाँगो माटोले भरिएको उर्भर भुमि तर बढदो शहरिकरणको कारण अब त्यहाँको उब्जाउ माटोमा अन्नको सट्टामा कँक्रिटका घरहरु उब्जिरहेको देखिने । विरेन्द्रनगर प्रवेश गर्नासाथ सुरुमै आउने प्रसिद्ध देउती बज्यै मन्दिर प्रवेश गरी देउतीको दर्शन गरेपछि एकैछिन अल्मलियौ ।

देउती बज्यैको अर्थ खोज्न तिर लाग्यौ र थाहा पायौँ कि अनिवार्य महिला मात्र पुजारी रहनु पर्ने देउती बज्यै मन्दिरको रहस्य र किंवदन्ती यस्तो रहेछः ‘उहिल्यै एकपटक एउटी बच्चीलाई भेरी नदीले बगाएर ल्याएको र त्यसलाई एकजना गाउँलेले निकालेर पालन पोषण गरी १४ वर्षमा पुगेपछि बिहे गरी दिन खोज्दा अलप भएकी थिइन रे । त्यसपछि ती बच्ची मानव नभएर देउता भएको भन्ठानेर गाउँलेहरुले उनकै प्रतिमान स्थापना गरी देउती बज्यै बनाएका रे’ !

साउनको १ गते दिनभर विरेन्द्रनगर सुर्खेतका महत्वपूर्ण स्थलहरु घुमियो । नेपाल एकिकरण भन्दा पुर्वको बाइसे राज्यहरु मध्येको एक खस मल्ल राज्य कालमा बनिएको सुर्खेतको प्रसिद्घ काक्रेबिहार पुग्यौ । काक्रेविहार, जसकोनिर्माणहिन्दू भनिएका खस मल्ल राजाहरुको पालामा भएको थियो, तिनै खस शासकहरु शुरुमा बौद्घमार्गी थिए भन्ने कुराको प्रमाण हो । बुलबुले ताल, प्रादेशिक अस्पताल, साथै शहिद पार्क अवलोकन पश्चात भोलीपल्टको यात्राको योजना बनाउदै बिरेन्द्रनगर मंगलगढीमा रात गुजारियो ।

चौथो दिन: करङनाली अर्थात् कर्णालीको तिरैतिर ….

हाम्रो यात्राको तेस्रो दिन बिहानै ६ बजे बीरेन्द्रनगर बसपार्कबाट कालिकोटको नाग्मा सम्मको  लागि यात्रा शुरु भयो । एक दिनको जीप सवारीमा नाग्मा भन्दा पर पुग्न नसकिने रहेछ । बाटैभरी देखिने नयाँ स्थानहरुको नाम डायरीमा टिपोट गदै अघि बढिरहयौ । सुर्खेतको बाङगे सिमल हुँदै दैलेखको तल्लो डुङगेश्वर पुगेपछि कर्णाली नदी भेटियो । अनि त्यसका तीरै  तीर अघि बढिरहयौ । करङ जस्तो आकारमा बग्ने नदी भएकोले करङनाली भन्दा भन्दै अपभ्रम्स भएर कर्णाली भएको रे । दैलेख का पाल्ताडा, सार्इंगाँउ, राकम हुँदै जितेगाडसम्म कर्णाली तीरको यात्रा गर्दै गर्दाबेला बेलामा भिडियो/फोटो खिचेको देखेर एक जना वृद्धले अचम्म मान्दै पछाडि पट्टिको सिटबाट सोधे ‘कहाँका मान्ठा हौ तिमी रु’ इलामको भने पछि उनले फेरी भने ‘रारा हिडेका जस्ता देखिन्छौ, सुबेन भने बिडामी होइजाइन्छ । पारीपट्टी अछामको रहप गाउँका पातला बस्तीहरु ऋाकल झुक्कल देखिन्थे । दैलेखको साइ गाउँ नजिक साइखोला भन्ने ठाउँमा बनेको कर्णाली नदी माथिको पक्की पुलले पारिपट्टि अछाम जिल्लालाई अझ सुगम बनाएको रहेछ । साई खोलामा कर्णाली तरेर जाने हो भने अछामको मंगलसेन, कमलबजार हुदै बाजुरा सदरमुकाम मार्तडी पुग्न सकिने रहेछ । हामी भनें कर्णाली वारीपट्टिबाटै अघि बढिरहयौ । कर्णाली राजमार्गको साँगुरो पथ पछयाउदै  जितेगाडमा पुगेपछि फेरी अर्को पुल देखियो कर्णाली नदी माथि । त्यो भर्खरै बनेको बेलीब्रिज रहेछ । त्यो पुल पारिपट्टबाट बन्दै गरेको सडक बाजुराको पुर्वी भेग हुँदै हुम्ला जाने रहेछ । आजसम्म हुम्लाको सदरमुकाम सिमिकोट सडक यातायतसँग नजोडिएको भएता पनि जिल्लालाई भने कच्ची सडकले छोइसकेको रहेछ ।

आजसम्म हुम्लाको सदरमुकाम सिमिकोट सडक यातायतसँग नजोडिएको भएता पनि जिल्लालाई भने कच्ची सडकले छोइसकेको रहेछ ।

जितेगाड अर्थात जिते खोलाबाट अघि बढेपछि सुरु भयो कालिकोट र छोडियो कर्णालीको तिर । कालिकोटको हुल्मा हुँदै सेराघाटमा तिला नदी तरेर १ घण्टाको उकालो चढेपछि देखियो सदरमुकाम मान्म बजार । अग्लो डाँडामा अवस्थित मान्म बजारको सडकबाटै दर्शन गर्दै हामी अघि बढिरहयौ । माओवादी द्घन्दकालमा रेडियोबाट प्रशस्तै नाम सुनिएको पिली भन्ने ठाउँ  पुग्दा त्यहाँ भएको माओवादी र तत्कालीन शाही सेनाको भिडन्त सम्झना आइरहयो जुन मैले रणनीतिक प्रत्याक्रमण नामक भिडियोमा हेरेको थिएँ । पिलीबाट फेरी तिला नदी, जुन कर्णाली नदीका सात सहायक नदीमध्येको एक हो, लाई दाहिने तिर पार्दै अघि बढिरहयौ । कर्णाली राजमार्गका अप्ठयारा ठाउँहरुमा सबैभन्दा धेरै यही कालिकोट जिल्ला भित्रै पर्ने रहेछन । कालिकोटको टाकुल्लाबाट  तीला नदी सँगसँगै पानी छुन खोज्दै अघि बढिरहेको हाम्रो जीप बेलुकी ६ बज्न लाग्दा जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा बजारमा पुगेर टक्क अडियो । नाग्मा  बजार कालिकोटको तिला गुफा नगरपालिकामा पर्दछ। नाग्मामा मेरा सामाजिक संजाल फेसबुकका मित्र जुम्ला सिंजा निवासी यमराज शाहीसँग भेट भयो । हामी यात्रामा निस्कने बित्तिकै देखि उहाँ हामीसँग बाटोमा भेटघाट गर्न इच्छुक हुनुहुन्थ्यो, उस्तै इच्छा थियो हाम्रो पनि । हिमा गाउँपालिकाका कर्मचारी उनै मेरा मित्र यमराजजीको सहयोगमा भोलिपल्ट बिहान मुगु जाने सवारीको टुंगो लगाएपछि हामी त्यसरात हिमा र तिला नदीको संगमस्थल नाग्मामा बास बसियो ।

पाँचौ दिनः राराको दर्शन, ताल्चाको बास

साउन ३ गते को बिहानै ६ बजे मुगु सदरमुकाम जाने अर्को सार्वजानिक बसमा चढेर फेरी यात्रामा निरन्तरता थप्यौं । नाग्माबाट तिला नदीको किनार हुँदै जुम्ला सदरमुकाम खलंगा जाने मार्गलाई दाँया पट्टि छाडेर हामी बाँया तर्फको हिमा नदीको किनारै किनार मुगुतर्फ बढिरहयौं । ३० जना यात्रु बोक्ने बसमा हामी लगभग ४५ जना जति यात्रु थियौ । नाग्मासम्म जेनतेन कालो पत्रे सडक भएपनि त्यंसपछि शुरु भएको कच्ची सडकको यात्रा अब साँच्चिकै जटिल बन्दै थियो ।

मनोरम सिंजा

जुम्ला जिल्ला प्रवेश गरेपछि शुरु हुने सिंजा उपत्यका भएर नै कर्णाली राजमार्ग मुगुको सदरमुकाम गमगढी पुग्दछ । सिंजा उपत्यका त्यस्तो बिराट साथै सुन्दर देखियो कि त्यो कुनै एउटा स्वर्गको टुक्रा थियो। घना मानव बस्ती सहितको हिमानदीको फाँटमा जुम्ली मार्सी धानको विस्तृत खेती साँच्चै नै मनमोहक  देखिन्थ्यो । यो त्यही सिंजा उपत्यका थियो  जहाँ १३ औं शताब्दीको शुरुवातमा भारततिर बाट आएका जोगी चन्दननाथले स्थानीय किसानहरुलाई धानको खेती गर्न सिकाएका थिए रे । सिंजा उपत्यकाबाट नै नेपालमा धान खेतीको विस्तार भएको मानिन्छ । तर जुम्लामा गरिने धान खेती नेपालका अन्य भागको भन्दा फरक रहेछ । यहाँ प्रत्येंक वर्षको चैत्र १२ गते विषेश तरिकाले धानको ब्याड तयार गरिने रहेछ । नेपालका अन्य भागमा असार १५ लाई धान दिवस को रुपमा मनाइरहदा जुम्लामा भने चैत्र १२ मा धान दिवश मनाइन्छ र सार्वजनिक बिदा समेत दिइन्छ ।

यो त्यही सिंजा उपत्यका थियो जहाँ १३ औं शताब्दीको शुरुवातमा भारततिरबाट आएका जोगी चन्दननाथले स्थानीय किसानहरुलाई धानको खेती गर्न सिकाएका थिए रे । सिंजा उपत्यकाबाट नै नेपालमा धान खेतीको विस्तार भएको मानिन्छ।

कर्णालीका भीरमा बाटो खन्ने इन्जिनियर र मजदुरलाई सलाम

 झण्डै २०/२२ किलोमिटर लामो सिंजा उपत्यकाको पेटै पेट बड्की, नराकोट, गोठीज्यूला हुँदै घुच्ची लेकमा पुगेपछि मुगु जिल्लामा प्रवेश गरिन्छ । घुच्ची लेकबाट अघि बढेपछि आउने  सातमोडको चट्टान खोपेर बनार्ईएको साँघुरो बाटोबाट अघि बढदै गर्दा बेला बेला बसबाट उत्रिएर हिँडदा नै बेस होला जस्तो हुन्थ्यो । एकातिर भिरअर्कातिर आँखाले नभ्याउने खोँच बाटो निक्कै आतंकवादी नै थियो । अक्करीलो पहाड कोट्याएर बनाएको साँघुरा अनगिन्ती घुम्ती नै घुम्ती भएको मृत्युमार्ग उपनाम पाएको कर्णाली राजमार्गमा गाडी गुडाउने चालकहरुलाई सलाम गर्न पर्छ । नातागोता र आसेपासेलाई वर्षेनी वितरण गरिने सरकारी पदक तथा बिभुषणहरु कर्णालीतिर गाडी गुडाउने एक/ दुईजना चालकहरुलाई दिएपनि राज्यको के नै जान्थ्यौं र जस्तो मनमा लागी रह्यो । पातलो फाट्टफुट्ट  देखिने बस्ती र प्राय सल्लाका रुख भएको ठाँउहरु छिचोल्दै मुगुको पिना गाँउ पुगेपछि भनें अर्कै अनुभित हुन थाल्यो । मुण्डा शैलीका माटोको छानो भएका घरहरु बिछट्टै फरक हाम्रा लागी । माटोको छानो माथि मानिसहरुले दाउरा, अन्नबाली आदि थुपारेका । कुनै घरहरु २/३ तल्ला भएपनि घरमाथी चढ्नका लागि बाहिर पट्टिबाट राखिएको काठको मुढा खोपेर बनाइएको साँघुरो लिस्नो । लिस्नोको टुप्पोमा मानब यां देवताको आकृति अनिवार्य खोपिएको हाम्रो लागि निक्कै अनौठो लाग्ने ।मैले आफनै गाँउघरतिर हुनेगरेका सजिला भर्याङहरु झल्यास्स सम्झिएँ ।

दिउसोको २ बजेको थियो । हामी मुगुको गमगढी नपुग्दै झ्यारी भन्ने स्थानमा उत्रियौ र उकालो लाग्यौ गाउँतिर । बसमा अन्य यात्रुहरुले दिएको सल्लाह अनुसार यौ नै छोटो पैदलमार्ग थियो हाम्रा लागी जस्ले छिट्टै नै हामीलाई राराताल पु¥याउन सक्थ्यो । यातायात साधनको अभाव भैरहने र बेमौसमी पर्यटक भएका कारण हिडनु नै हाम्रा लागि उपयुक्त विकल्प थियो ।

आहा रारा !

निकैबेर हिंडेपछि हामी सल्लेरी पुग्यौ जहाँ एक दुईवटा झुप्रे होटलहरु थिए । सोधपुछ गरेपछि थाहा लाग्यो त्यहाँको होटलहरुमा खान भन्दा सुत्नको लागी अत्यन्तै महँगो हुने रहेछ । अगाडी पट्टि रहेको नेपाली सेनाको चेकपोष्टमा नाम दर्ता गराएपछि रारा राष्ट्रिय निकुन्जको परिसर भित्र छिरेका हामी १ घण्टामा तल्लो मिलीचौर पुग्यौं जहाँबाट देखियो नेपालको सबैभन्दा ठुलो ताल राराताल । कुनै बखत राजा महेन्द्रको सवारी पश्चात यसलाई महेन्द्रताल समेत भनिन्थ्यो । १०६ वर्ग किलोमिटरमा फैलिएको रारा राष्ट्रिय निकुन्ज र त्यसकै केन्द्रबिन्दुमा रहेको १०.६ वर्ग कि.मी. क्षेत्रफल र १६५ मिटरसम्म गहिरांइ भएको सुन्दर रारातालको दुई बिपरीत विशेषता छनः सबैभन्दा सानो राष्ट्रिय निकुन्ज र सबैभन्दा ठूलो ताल ।

रारातालको भव्यता र सुन्दरताको शब्दमा वर्णन गरिसाध्य छैन । समुन्द्र सतहबाट २९९० मिटर उचाईमा अवस्थित रारा ताल स्वच्छ पानीको ताल हो जहाँ वर्षातको पानी बाहेक अन्य कुनै स्रोतबाट पानीको मात्रा थपिन्न । कारणवस ताल भरिएको खण्डमा भने पश्चिम दक्षिण दिशाबाट निकास हुने रहेछ। रारातालको पानी निकासबाट निस्किएको खोलालाई खत्याड खोला भनिन्छ ।

१०६ वर्ग किलोमिटरमा फैलिएको रारा राष्ट्रिय निकुञ्ज र त्यसकै केन्द्रबिन्दुमा रहेको १०.६ वर्ग किमी क्षेत्रफल र १६५ मिटरसम्म गहिराई भएको सुन्दर रारातालको दुई बिपरीत विशेषता छन्- सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज र सबैभन्दा ठूलो ताल।

सफा आकाश भएको मौकामा छाँयानाथ हिमालको प्रतिबिम्ब समेत देखिन्छ भन्ने सुनेको रारा तालको पानीमा हामीले भने त्यस्तो केही अनुभव गर्न पाएनौं। बादलले ढाकिएको आकाश यसको बाधक भएको ठान्यौं । शायद यात्राको लागि समेत मौसम, ऋतु आदिको समेत हामीले ध्यान दिएनौं । यात्रा सुरु गर्नुअघि गन्तव्यको बारेमा धेरै कुराको जानकारी राख्न पर्ने रहेछ । रारा तालमा नुहाउने योजना पनि पूरा हुन पाएन किनकि नुहाउन, लुगा धुन त्यहाँ बर्जित गरिएको रहेछ । दिनको १२ बजे पश्चात हावाको चाप बढने र त्यसले तालमा छालहरु उत्पन्न हुने भएकाले बोटिङ पनि हाम्रा लागि असम्भव भयो किनकि हामी त्यहाँ पुग्दा अपरान्हको ४ बजिसकेको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि वर्षातको समय बेमौसम भएर होला ताल घुम्न आउने पर्यटक हामी दुईजना मात्रै थियौ । पुरै सुनसान तालको पारीपट्टी ठाउँ ठाउँमा नेपाली सेनाका ब्यारेकहरु देखिन्थे जस्ले निकुञ्जको सुरक्षा गर्दथ्यो ।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र तोकिएको निश्चित राजश्व तिरेर छोटो छोटो अवधिका लागि घुमन्ते पशु गोठ राख्न पाइने भएकाले तालका वरीपरि गाईंभैसी तथा घोडाहरु चरिरहेको मनमोहक दृष्यहरु देखिन्थ्यो। ताललाई एक फन्को लगाउने हाम्रो मनसाय चाहि त्यहाँ पुगेपछि सेलायो। किनकि ताल वरिपरी राष्ट्रिय निकुञ्जको जंङ्गल भएकाले जङगली बन्यजन्तुको आक्रमणमा परिने डर हुने रहेछ। साँझ पर्दै गएपछि तालको चिसो  हावाले निकै जाडो अनुभव भएपछि हामी बासको खोजीमा लाग्यौं। खान बस्नको खासै सुविधा नभएको र फाट्टफुट्ट भएका ३/४ वटा रिसोर्टहरु समेत निकै महंगो लागेपछि हामी सदरमुकाम गमगढी जानलाई सजिलो पर्ने गरी बाटोतिर बस्ने हिसाबले फर्कियौं।  राती ८ बजे रारा र गमगढिको बीचमा पर्ने ताल्चा भन्ने ठाउँमा एक झुपडी होटलमा बास बसियो । ताल्चामा मुगुको एक मात्र एयरपोर्ट समेत रहेकाले त्यसको वरीपरी अलि धेरै संख्यामा बास बस्न मिल्ने होटलहरु रहेछन भन्ने कुरा भोलिपल्ट बिहान मात्र थाहा पाइयो । रातभरी पानी परेको कारण ताल्चाको होटलमा पानी चुहिएर बिजोक भएको अनुभव संगाल्दै खानाको रु.२५० का दरले र सुतेको १२ सय तिरेर भोलिपल्ट बिहानै गमगढी तर्फ पैदल हिँडियो ।

छैटौं दिनः गमगढी मुगालीको लण्डन

मुगु सदरमुकाम गमगढीतर्फ हिंडदै गर्दा बाटो आसपासमा देखिने बग्रेल्ती स्याउका बोटहरुमा लटरम्मै फलेका स्याउहरु खाने बेला नै भएको थिएन । दैनिक एउटा मात्र यात्रु  बसले बल्लतल्ल सेवा पु¥याउदै गरेको मुगु सदरमुकाम गमगढी आसपासका ति स्यांउहरुले उपयुक्त बजार नपाउने घाम जत्तिकै छर्लङ्ग थियो। बाटोमा हिंडदा देखिएका चङखेली लेक र छाँयानाथ हिमालले हाम्रो थकाइलाई मेटाइरहेको थियो । दुरमा देखिने चङखेली पहाड त्यही रहेछ जुन रु.१ को नोटमा छापिएको छ र त्यसले मुगु र हुम्ला जिल्लालाई  विभाजन गरेको छ। छाँयानाथ हिमालको फेदीबाट आउने मुगु कर्णालीको नजिकमा निक्कै अप्ठयारो भूगोलमा अडिएर बसेको गमगढि बजार अब भने हाम्रो आँखा नजिकै आइपुग्यो, जुन मुगाली जनताको लागि लण्डन सो सरह नै हो ।

झापामा २५ रुपैंया, गमगढीमा ९ रुपैंया किलो नुन !

एक रात बसेर अवलोकन गरौला भन्ठानेको गमगढी बजार पुगेपछि भने हाम्रो सोच बदलियो । त्यहाँको अस्तव्यस्तता, हिलाम्य सडक र खानेपानी आदिको समस्या देखेपछि र शायद गमगढीको फोहोरले गर्दा हुनुपर्छ मेरा मित्र डम्बर सरले गमगढीबाट अन्तैतिर फर्किहाल्न जोड गर्नुभयो । गमगढीमा ५ रुपैंया गोटाका २० दाना स्याउ किनेर खाँदै छेउछाउका पाखो बारीमा छरेर उम्रेका धानबारीहरु चहार्दै फर्कने निधो गरियो । मुगु तिर सिंचाईको सुविधा हुने ठाउँमा खेत हिल्याएर र सिंचाइ हुन नसक्ने पाखो, भिरालो जमिन तिर धान छरेर खेती गरिने रहेछ । त्यहाँको पाखा भिरालो बारीतिर खेती गरिने छरुवा धानको नाम सितारानी भएको थाहा लाग्यो । गमगढीमा अर्को एउटा कुरा याद आयो मलाई । २० वर्ष अघिसम्म कर्णालीका मान्छेले नुनको पनि अनिकाल व्योहोर्छन् रे भन्ने सुनेको र पढेको सम्झें । त्यसपछि बजारमा नुन छ कि छैन होला भनेर सोध्न मन लाग्यो । एउटा पसलमा सोधें । नुन पाइने मात्र होइन देशमा सबैभन्दा सस्तो पनि रहेछ । ९ रुपैंया नुन पाइदो रहेछ । मलाई थाहा थियो झापामा २५ रुपैंया किलो पर्छ नुन । आहा कर्णाली १ दुई दशक अघि अलिनो खानुको पिडा अहिले सस्तीएको नुनले बिर्साइदिएको होला। कर्णालीका जनताले अन्य कुरामा सास्ती र महङगी भोग्नु परे पनि नूनमा चाहिं ठूलो राहत पाएका रहेछन नेपाल सरकारको कर्णाली राहत कार्यक्रम मार्फत ।

कर्णालीतिर सिंचाइको सुविधा भएका ठूला ठूला समथर फाँट जहाँ धानको खेती गरिन्छ, त्यसलाई ज्यूलो भनिदो रहेछ । शायद त्यही ज्यूलोको अपभ्रस भएर ‘जाउला’ भएको हुनु पर्दछ ।

खाना समेत नखाई गमगढीको स्याउकै भरमा बाँच्ने विचार गरियो त्यो दिन । सडकको दुरावस्थाले गमगढीको बसपार्कसम्म पनि आउन नसकेको सार्वजानिक यातायातको एउटा मात्र बसलाई गमगढी माथिको डाँडामा कुर्दै र सीट नपाएपछि निरास बन्दै बसेका हामी अन्त्यमा खुट्टा टेक्ने सम्म ठाँउ भेटेपछि जुम्लाको गोठीज्यूलासम्म फर्किने हिसाबले गाडी चढ्यौ । फर्किदा ठाउँ ठाउँमा सडक पहिरोले पुरिएको, बाढीले बिगारेको  प्रशस्तै देखियो । त्यस्ता ठाउँहरुमा सबै यात्रु तथा गाडीका मानिसहरु मिलेर बाटो सफा गर्दै बल्लतल्ल साँझमा सिंजा उपत्यकामा पर्ने गोठिज्यूला आइपुगियो । कर्णालीतिर सिंचाइको सुविधा भएका ठुला ठुला समथर फाँट जहाँ धानको खेती गरिन्छ त्यसलाई ज्यूलो भनिदो रहेछ। शायद त्यही ज्यूलोको अपभ्रस भएर ‘जाउला’ भएको हुनुपर्दछ । तुलनात्मक रुपमा बास बस्न राम्रै  सुविधाहरु भएको गोठिज्यूलामा रातो मार्सीको अर्गानिक स्वाद लिदै रात कटाइयो।

सातौं दिन : जुम्लामा मार्सी धानसँगै दुर्गा प्रसाईंको चर्चा

हाम्रो यात्राको सातौ दिन गोठिज्यूलाबाट निस्केपछि सिंजा उपत्यका, जुन नेपाली भाषाको उदगम थलो समेत हो, लाई नियाल्ने विचारले पैदल यात्रा सुरुगरियो । जुम्लातिर खेती गरिने मार्सी  धान कालो र रातो गरी २ किसिमको हुने रहेछ । पहिले पहिले खासै त्यती चर्चा नहुने र मूल्य समेत नभएको मार्सी धानको पछिल्लो समयमा झापाका दुर्गा प्रसाईंले केपी शर्मा ओली र प्रचण्डलाई भोजन गराएपछि त्यसको प्रभाव सिंजामा पनि परेछ। अघिल्लो दिन बसमा यात्रा गर्दै गर्दा एकजना स्थानीय यात्रुले समेत गफ गर्दै थिए जुम्लाका मानिसले त दुर्गा प्रसाईंलाई एकपटक सिंन्जा बोलाएर अभिनन्दन गर्दा पनि फरक पर्दैन ।

सिंजा उपत्यकामा पैदल यात्रा गर्दै नराकोटसम्म पुगेपछि भने एउटा सानो सवारी साधन भेटियो र त्यसैमा चढेर नाग्मा सम्म फर्कियौ । यतिलामो यात्रा गरिरहदा जुम्ला सदरमुकाम खलंगा नपुगी फर्कियौ भनें हाम्रो यात्रा अधुरै रहला भन्ने ठानेर नाग्माबाट तिलानदी किनार हुँदै खलंगा तिर हुँइकियौं । तातोपानी नजिकै बाटोमा एक ठाउँ “छुइ गोठ मुक्त गाउँ“ भन्ने लेखिएको साइनबोर्ड देखियो, जसले हामीलाई कर्णालीको लैंगिकहिंसाको इतिहास सम्झाउन पुग्यो तीन चार घण्टासम्म जुम्ला सदरमुकाम र आसपासका ठाँउहरु घुम्दै गर्दा पूर्व तिरका पर्यटकहरु बिरलै पुग्ने जुम्लाका किसानहरु खेतमा गरिरहेको काम छोडेर आई हामी सँग गफिन खोज्थे । भाषाको लवज र भेषभुषाबाट नै स्थानीय र बाहिरीया सजिलै छुटयाउन सक्ने जुम्ली जनताहरु शैक्षिक क्षेत्रमा भने मुगाली भन्दा धेरै अघि रहेछन । भूगोलको हिसाबले पनि जुम्ला कर्णालीका अन्य जिल्ला भन्दा धेरै उत्पादनशिल र आत्मनिर्भर रहेछ । तराईको कोहलपुर देखि जुम्लाको खलंगा सम्म जेनतेन कालोपत्रे पुगेको कारण यातायातमा पनि निकै सरल हो जुम्ला । तर मुगुतिर भने सार्वजानिक यातायातका साधनहरु ले  इन्धनको फाल्तु जोहो गरेर आफै बोकेर हिडनु पर्ने । मुगुतिर जाने सवारी साधनहरुमा टयाङकी भरी इन्धन भरेर समेत थप एक दुईवटा ड्रमहरुमा डिजेल बोक्नु अनिवार्य जस्तै रहेछ, नत्र गन्तब्यमा त जेनतेन पुगिएला तर फर्किन सकिन्न ।

 जुम्ली जनताले अत्यन्तै श्रद्घा गर्ने बाबा चन्दननाथको सम्मानमा जुम्ला सदरमुकाम खलङ्गामा निर्मितचन्दननाथ मन्दिरको दर्शन गरेपछि थाहा पाइयो कि त्यस मन्दिरमा मुल पुजारी अबिवाहित ब्राम्हण पुरुष नै हुनुपर्ने रहेछ । त्यस पश्चात कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान,एयरपोर्ट र स्याउ बगानहरु डुलेर थकित हामी भोलिपल्ट बिहान कोहलपुर फर्किने योजनाका साथ खलङ्गामा नै सुत्यौ ।

आठौं दिन: जुम्लाबाट कोहलपुर

भोलिपल्ट बिहान कोहलपुरको लागि गाडी चढ्यौ र कोहलपुरमा एक रात बास बस्यौं । नवौं दिन झापाका लागि गाडी चढ्यौं र दशौं दिन आफ्नो थातथलो आइपुग्यौं ।

समग्रमा कर्णाली यात्रा हाम्रा लागि नितान्त फरक र अनुपम रहयो । पूर्वी नेपालका कमै मानिसले देखे घुमेको कर्णाली आफ्नै आँखाले देखेपछि त्यस क्षेत्रको बारेमा रहेका थुप्रै भ्रमहरु मानसपटलबाट हट्यो। वास्तवमा कर्णाली प्राकृतिक श्रोत साधन र संस्कृतीले धनी भएपनि त्यसबारेमा प्रचार प्रसारमा कमीको कारण पछाडी परेको अनुभव भयो। कर्णाली

क्षेत्रमा बोलीने नेपाली भाषाको लवजमा पाइने फरक स्वादको छुट्टै आनन्द महसुस हुन्थ्यो। हवाई वा स्थल दुबै मार्गबाट पुग्न सकिने कर्णाली अब नेपालका अन्य भागका आन्तरिक पर्यंटक हरुका लागी उपयुक्त गन्तव्य हुन सक्छ ।