अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वालिङका पाँच घर पहिरोको जोखिममा

वालिङका पाँच घर पहिरोको जोखिममा


स्याङ्जा – अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो ।

आज दिउसो ३ बजे घर मुनीबाट पहिरो खसेपछि तत्काल त्यहाँ बस्दै आएका परिवारहरुलाई छिमेकीको सारिएको उहाँले बताउनुभयो । पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ । प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ती घरहरु जोखिममा परेका हुन्  ।

अहिले पानी परिरहेकाले जोखिममा रहेका घरमा बस्दै आएकाहरुलाई छिमेकीको घरमा राखिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । मानवीय क्षति नहोस् भनेर त्यहाँ बस्दै आएका पाँच परिवारलाई  छिमेकीको घरमा सारिएको छ । पानी रोकिएपछि प्राविधिक तथा विपद ब्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने/नहुने बुझेर सोही अनुसारको प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने नगरप्रमुख खाँणले बताउनुभयो । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाकाकारण यहाँको जनजीवन कष्टकर बनेको छ ।