अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालिकोटमा पहिरो: मलामी गएका वडाध्यक्षसहित १३ जना बेपत्ता

कालिकोटमा पहिरो: मलामी गएका वडाध्यक्षसहित १३ जना बेपत्ता


कालिकोट – लगातार पाँच दिनदेखिको अविरल वर्षाका कारण कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा परी बेपत्ता भएका छन् ।

आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरुमाथि तिलाकर्णाली नदीमा लाश जलाउने क्रममा पहिरो खसेको थियो।

पहिरोमा पुरिएर तिलागुफा नगरपालिका-४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता हो ।

आइतवार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरोमा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो।

मलामी गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ५३ जनामध्ये अरु भाग्न सफल भएका छन् भने १३ जनालाई पहिरोले बगाएर तिला कर्णाली नदीमा पु¥याएको अनुमान गरिएको छ । बेपत्ता हुनेमा स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, ३६ वर्षीय छत्रजङ्ग शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परमबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन् ।

अहिले बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । पाँच दिनको वर्षाले कालीकोटमा ठूलो क्षति भएको प्रजिअ शर्माले बताउनुभयो । आइतबार तिलागुफा नगरपालिका–५ मा पहिरोमा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए ।