अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली


लुम्बिनी – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभयो ।

मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने सात सदस्यीय सो टोली लुम्बिनीस्थित शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुग्नेछ । खेलाडीहरू बिहीबार बिहान शान्तिदीपबाट जलाइएको टर्च लिएर लुम्बिनीस्थित मुख्य मायादेवी मन्दिर परिसरको परिक्रमा गरी पोखरातर्फ प्रस्थान गरेका छन् ।

सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभयो । नेपाल खोखो सङ्घका महासचिवसमेत रहनुभएका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूमि शान्तिदीपबाट लिएर गएको टर्चले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताउनुभयो ।

ओलम्पिक टर्च र्‍यालीका संयोजक मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको टर्च पोखराका ओलम्पियनहरूमाझ पुर्‍याएर ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलाडीहरूलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्व शाखा प्रमुख हिमाल उप्रेती तथा लुम्बिनीका पर्यटन व्यवसायीहरूले खादा ओढाएर स्वागतसहित सफलताको शुभकामना दिनुभएको थियो । नवौँ बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरू भइरहेका छन् ।