कास्की – कास्की क्षेत्र-२ बाट एमालेकी प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या भट्टराईले नेकपा एमालेलाई राष्ट्रिय शक्ति बनाउने बताउनुभएको छ ।
नेकपा एमाले कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको चुनावी प्रचार अभियानलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले अभियानका अभियन्ता एमाले कार्यकर्ता भएको प्रष्ट पार्नुभयो।
प्राध्यापन पेसा छाडेर पार्टी राजनीतिमा होमिनुभएकी भट्टराई एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी हुनुहुन्छ । अधिकारीको पर्यटन मन्त्री हुँदा पाथीभरा जाने क्रममा हेकिप्टर दुर्घटनामा ज्यान गएको थियो । उहाँको निधन पछि रिक्त रहेको सो क्षेत्रको उपचुनावमा यसअघि पनि एमालेले उहाँलाई लडाएको थियो र भट्टराई विजयी हुनुभएको थियो । यसपटक पनि कास्की २ बाट एमालेले उहाँलाई उम्मेदवार बनाएको छ ।
अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गर्नुभएकी भट्टराई अनेरास्ववियुको केन्द्रिय सचिव, अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी सदस्य, बुद्धिजीवी परिषद्को केन्द्रीय सदस्य भएर काम गर्नुभएको थियो । त्रिविको प्राध्यापक भएपछि भने उहाँ पार्टीको खुल्ला राजनीतिमा देखिनुभएको थिएन । त्यसबेला आफू पार्टीको अचल सम्पत्तिको रूपमा रहेको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म एउटा पार्टीका अचल सम्पत्तिको रूपमा पार्टीमा काम गरिरहेको थिएँ, मलाई बाहिर ल्याउँदा म त्यो सम्पत्ति हो कि होइन भन्ने पहिचान थिएन, त्यो अचल सम्पत्तिलाई तपाईँहरूले चल सम्पत्ति बनाउनुभएको छ।’
आफूले २ वर्ष बढी प्रतिनिधि सभा सदस्य भएर काम गरेको भए पनि पुनः पार्टीले आवश्यकता महसुस गरी प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएको भट्टराईले बताउनुभयो । देशको लागि एमालेले जित्नु पर्ने भएकाले कास्कीका सबै निर्वाचन क्षेत्रमा एमालेलाई जिताउने गरी चुनावी अभियानमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।






प्रतिक्रिया