चितवन – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेले थालेको सामाजिक सुरक्षा कार्यक्रमका कारण आज देशभर २५ लाख जेष्ठ नागरिक र थप ९ लाख विपन्न तथा सिमान्तकृतहरुले सुविधा पाइरहेको बताउनुभएको छ ।
चितवन क्षेत्र नम्बर १ को चुनावी अभियानका क्रममा खैरहनी नगरपालिका वडा नम्बर ९ मा पाण्डेले एमालेले थालेका जेष्ठ नागरिक र सिमान्तकृतको सामाजिक सुरक्षा सफल भएको भन्दै अब युवामा लगानी गर्ने नीति लिएर आउँने बताउनुभयो ।
पाण्डेले एमालेले थालेको १ सय रुपैयाँ वृद्धभत्ता अहिले ४ हजार पुगेको र ५ हजार पुर्याउने एमालेको प्रतिबद्धता कायमै रहेको बताउँदै २५ लाख जेष्ठ नागरिक एमालेबाट लाभान्वित भएको उल्लेख गर्नुभयो । उनले त्यसबाहेक अपांग, अल्पसंख्यक र एक महिला समेत जोडेर ९ लाखले भत्ता पाइरहेको पाण्डेको भनाइ छ ।
पाण्डेले भन्नुभयो–खैरहनीमै एउटा घरमा जाँदा बा आमाले भन्नुभयो, हाम्रो दुई विगाहा जग्गाबाट वर्षमा ४०÷५० हजार आम्दानी हुन्छ । तर हामी बुढाबुढी दुईजनालाई मासिक ४ हजारले वर्षमा ९६ हजार भत्ता एमालेले दिएको छ । एमालेले लाएको गुन कहिल्यै बिर्सदैनौं भन्नुभयो, यही हो सामाजिक सुरक्षा । अब हामी युवामा, छोराछोरीमा लगानी गर्ने र देश विकास गर्ने नीतिसहित आउँदैछौं ।






प्रतिक्रिया