काठमाडौं – गाउँको विकास भन्ने बित्तिकै हरेक ठाउँमा धाउने र योजना पार्न सफल व्यक्ति हुनुहुन्छ लक्ष्मणबहादुर पाण्डे । २०२४ साल माघ १९ गते बुवा तुलबहादुर पाण्डे र आमा खेमकुमारी पाण्डेको कोखबाट विनयी त्रिवेणी गाउँपालिका वडा–४ थारु टोलमा जन्मनु भएका पाण्डे सानैदेखि अन्याय र अत्याचार नसहने स्वाभावका हुनुहुन्थ्यो । जहाँ थिचोमिचो हुन्छ त्यसको प्रतिकारमा पाण्डेको स्वर ठूलो थियो । विद्यार्थीकालदेखि वि.सं. २०४० बाट राजनीतिमा सक्रिय पाण्डे खुल्ला राजनैतिक परिवेश शुरू भएपछि २०४९ सालको स्थानीय निकायको चुनावमा स्नातकोत्तरको पढाइ छोडेर गाउँको नेतृत्वका लागि फर्कनुभएको थियो । नेकपा (एमाले)ले तत्कालिन बेणीमनीपुर गाउँविकास समितिको अध्यक्ष पदमा उम्मेदवार बनाएपछि उहाँको संसदीय राजनीतिमा प्रवेश भयो ।

पार्टीबाट २०४८ सालमा संगठित सदस्यता प्राप्त गरेका पाण्डे एक वर्षमै गाउँ विकास समितिको अध्यक्षको उम्मेदवार बनेर चुनाव जित्नुभयो ।
पूर्वपश्चिम राजमार्गबाट १३ किलोमिटर उत्तरको सर्दी बस्तीमा बाटो, बिजुली, खानेपानी, शिक्षा स्वास्थ्यको अभाव नै थियो । गाउँमा पढेलेखेको युवा अध्यक्ष भएपछि केही हुन्छ भन्ने आशा गरेका गाउँबासीहरूमा उहाँले विकासको आशाको किरण भर्न सफल हुनुभयो । गाविसमा विकास बजेट वार्षिक रु.१५ हजार हुन्थ्यो त्यसले गाउँविकास गर्न सम्भव थिएन । तर पनि उहाँले जनसहभागीता आधारित भएर बाटो निर्माण अवधारणा पाण्डेले ल्याउनुभयो । राजमार्गसँग गाउँ जोड्न सर्दी पिडरी हुँदै ब्रिटिस क्याम्प बाटो बनाउन पहल गर्नुभयो । अहिले त्यही बाटो सडकको रूपमा विकास भएको छ । जनपक्षीय काम र पार्टीको नेतृत्व गर्न अवसर पाएका पाण्डे बेणीमनीपुर गाविसको एमालेको उपसचिव हुँदै २०५१ मा इलाका कमिटी सदस्य हुँदै २०५४ सालमा जिल्ला कमिटिको सदस्य हुन हुनुभयो । पहिलो कार्यकालका राम्रा कामले पाण्डेलाई दोस्रो पटकका लागि अवसर उपलब्ध गरायो । २०५४ सालको निर्वाचनमा पनि उहाँलाई मतदाताले चुनाव जिताए ।
आफ्नो गाउँ आफैं बनाऔं भन्ने अभियान अन्तरगत सर्दीका टोल टोलमा बाटाहरू खोल्ने, ग्रावेल गर्ने, मुलबाटो तथा शाखा बाटोहरुमा कल्र्भट निर्माण तथा सडकको स्तरउन्नतिमा लागि रहे । विनयी खोलामा आउने बाढी र सर्पदशको टोकाइबाट वर्षेनी गाउँललेको ज्यान जाने भएपछि विनयी खोला र खहरेखोलाहरुको तटबन्धन कार्यलाई अगाडि बढाए । गाउँमै रोजगारीको क्षेत्रहरु पहिचान गर्न लागे। स्वास्थ्य उपचारका बाढीका बेला कष्ट हुने हुँदा खोलाहरूमा पुल निर्माणमा निरन्तर लागेका पाण्डे २०५९ सालमा गाविस अध्यक्षको पदावदी सकिएपछि पनि सामाजिक काममा निरन्तर लाग्नुभयो । देशमा द्वन्द्व मच्चिएको बेला पनि पाण्डे गाउँको विकासमा लागि रहनुभयो ।
उहाँले सर्वदलीय संयन्त्र निर्माण गरी विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । सर्दीको जग्गा नाप नक्साको कामलाई अगाडि बढाउनुभयो । सर्दी क्षेत्रको एक मात्र मावि दीपेन्द्र माविलाई उच्च मावि हुँदै सर्दी बहुमुखी क्याम्पस स्थापनामा पाण्डे कै उल्लेखनीय भूमिका छ । गाविसभित्र रहेका विद्यालयमा भौतिक पूर्वाधार र गाविसको अनुदानमा शिक्षकको व्यवस्था गर्ने काम पनि उहाँले नै शुरू गर्नुभयो । सर्दीको विकास निर्माणमा योजना बनाएर सबै दल संग हातेमालो गरेर अगाडि बढ्न सक्ने खुबी पाण्डेमा छ ।
समग्र विकासका अगुवा पाण्डे जनप्रनिनिधि नहुँदा पनि सर्दीलाई उज्यालो बनाउन कम्मर कसर लाग्नुभयोे । दुई पटक गाविस अध्यक्ष हुँदा कुन निकायमा पुग्दा काम हुन्छ भन्ने राम्रो ज्ञान थियो । त्यसैले राष्ट्रिय प्रशारण लाइन जोड्ने अभियानमा लागे । विद्युत प्राधिकरणले काम नथालेपछि पाण्डेले सामुदायिक हिसावले उज्यालो सर्दी बनाउन अभियानको नेतृत्व गर्नुभयो । २०६६ सालमा सर्दी ग्रामीण विद्युत वितरक सहकारी संस्था स्थापना गरेर त्यसको संस्थापक अध्यक्ष बन्नुभयो । उहाँको उज्यालो सर्दी बनाउने अभियानमा अनवरत अहिले पनि जारी छ । शुरुवातमा २०÷८० को कार्यक्रम अन्तरगत प्रथम फेजमा विद्युत प्राधिकरण केन्द्रबाट रु.२ करोड ११ लाख उपभोक्ताबाट रु.३० लाख र गाविसबाट रु.१० लाख बजेटको व्यवस्था गरी थालिएको विद्युतीकरण कार्यक्रमले अहिले सर्दी उज्यालो भएको छ । हाल विनयी त्रिवेणी गाउँपालिकाका वडा–३, ४ र ५ वडा यही अभियानले उज्यालो बनेको हो । यस कार्यका लागि दोस्रो फेजमा केन्द्रबाट रु.५ करोड २७ लाख अनुदान र उपभोक्ताबाट रु.५३ लाख ५६ हजार एक सयको लगानी गरिएको छ । हाल सालै ११ वटा ट्रान्सफर्मरहरु थप गरी गुणस्तरीय बिद्युतीकरणमा बिद्युत विभागबाट थप रु.१ करोड र सर्दी ग्रामीण बिद्युत सहकारीबाट रु.१२ लाख व्यवस्था गरी काममा लागेका पाण्डे सरकारी अनुदान, स्थानीय उपभोक्ता र स्थानीय स्रोत साधनको प्रयोग गरी विकास निर्माणबाट जनतालाई लाभ दिन सक्ने खुवी भएका नेता हुन् । तीन हजार चार सय घरधुरीमा यो अभियानबाट बिद्युतीकरण भएको छ ।

एमाले गण्डकी प्रदेश कमिटी सदस्य रहेका पाण्डे, भौतिक पूर्वाधार विकास, औद्योगिक विकास, पर्यटकीय क्षेत्रको विकास, कृषि उत्पादकत्वमा बृद्धि, शिक्षा, स्वास्थ्य तथा यूवाहरूको रोजगारी बृद्धिका लागि काम गर्नुपर्ने धारणा राख्नुहुन्छ । सर्दीको पर्यटकीय धार्मिक क्षेत्रको विकासमा सर्व सिद्धिधामका लागि रु.५ लाख ५ हजार ५५५ दान गरेका छन् भने विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय निर्माणका लागि तीन कठ्ठा जमिन निःशुल्क उपलब्ध गराउनुभएको छ ।
एमालेको तर्फबाट नवलपुर क्षेत्र-२ (२) का उमेदवार पाण्डेले त्रिबेणी दुम्किबास, सर्दी पाल्पा सडक, अरुणखोला मिल्याल सडक, त्रिबेणीधामको पर्यटकीय विकास, दाउन्नेदेवी मन्दिर, गुम्बा, ल्लोहोसेधारा पर्यटकीय पूर्वाधार विकास, कृषि उत्पादनमा प्रविधिको प्रयोग, त्रिवेणी भन्सारको व्यवस्थापन, नारायणी नदीको कटान तथा विनयी अरुणखोला, गिरुवारी खोलमा बाढी आउदा हुने कटानहरुलाई व्यवस्थित गर्ने, सडक सञ्जालमा सबै जनताको पुहँच पु¥याउने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयको ग्यारेन्टी गर्ने गरी काम गर्ने संकल्प पाण्डेको छ ।






प्रतिक्रिया