अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमक भ्यू टावर ओलीको सपना, विकासको नयाँ नमूना 

दमक भ्यू टावर ओलीको सपना, विकासको नयाँ नमूना 


झापा – पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण थालेको पर्यटकीय तथा व्यवसायिक प्रयोजनको पहिलो र अग्लो दमक भ्यू टावर १८ तला निर्माण सकिएको छ । अब ७ तल्ला स्टिलको संरचनाबाट बनाएपछि दमक भ्यू टावर २५ तलाको हुनेछ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत दमक नगरपालिका-३ स्थित दापगाछीमा निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको करीब १०० मिटर भन्दा अग्लो २५ तल्लाको भ्यू टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वपश्चिम राजमार्गको कृष्णमन्दिर सडक खण्डबाट करीब दुई किलोमिटर उत्तरतर्फ भ्यू टावर निर्माण गरिएको छ । कुल ५ बिगाहा क्षेत्रफलमा बनेको दमक भ्यू टावर अन्तर्राष्ट्रिय स्तरको हुने जनाइएको छ । टावरको १८ तल्लासम्म पक्की संरचना बन्ने छ । जसको काम सम्पन्न भएको छ । यसमाथि थप सात तल्लाको स्टिलको संरचना बन्ने छ ।

निर्माण तथा रेखदेखको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर भुपेन्द्र यादवका अनुसार भ्यू टावर निर्माणको कामसँगै आन्तरिक एसी, बक्ती, केवुल, सिलिङ, वेयरिङको काम समेत एकै साथ भइरहेको छ । भ्यू टावरको डिपिआर अनुसार मुख्य भवनमा अण्डर ग्राउण्ड पार्किङसहित विभिन्न आधुनिक सभ्यता सुहाउदो आकर्षक साजसज्जाका साथको व्यवसाय सञ्चालन गरिने छ । यहाँ २४० वटा सवारी पार्किङ  गर्न सकिनेछ । जसमध्ये ४० वटा चार पाग्रे र बाँकी दुई सयमा मोटरसाईल पार्किङ  गर्न सकिने छ ।

टावरमा पहिलो तलादेखि चौथो तलासम्म विभिन्न खुद्रा बिक्रीका भव्य पसल रहने छन् । त्यस्तै पाँचौ तलामा आधुनिक अन्तर्राष्ट्रिय स्तरको सेमिनार हल रहने छ । छैटौं देखि आठौं तलासम्म बैंक बित्तीय सस्थाका कार्यालय तथा ठूला थोक व्यवसायको प्रयोजन रहने छ । यसरी नै टावरको नौ तला देखि ११औं तलासम्म आर्ट ग्यालरी एक्जिभिसन हल लगायतको  प्रयोजना रहने छ । १२औं देखि १५औं तलासम्म होटल, रेष्टुरेन्ट एण्ड वार सञ्चालन गरिने छ । १६औं र १७औं तलालाई भ्यू टेक (दृश्य अवलोकन) गर्ने ठाउँको रूपमा विकास गरिने जनाइएको छ ।

यस बाहेक विभिन्न प्रकारका सपिङ कम्पलेक्स, रेष्टुरेण्ट, भिआईपी कार्यालय लगायत हुने छन् । दमक भ्यू टावर १० कट्ठा क्षेत्रफलभरीमा बनेकोे छ भने बाँकी क्षेत्रमा अन्य संरचना निर्माण गरिदैछ ।

यावदका अनुसार भ्यू टावर बाहेक यहाँ बालउद्यान सर्वसाधारणका लागि  घुम्न आकर्षक बगैंचासहितको पार्क निर्माण गरिंदैछ । यहाँ मानिसले सबै तनाव  बिर्सिएर केही सयम आनन्द लिनसक्ने परिकल्पना गरिएको छ । यो कम्पाउण्ड भित्र एउटा पानीको फोहोरा सहितको पानी पोखरी निर्माण गरिने छ । पोखरीको किनारमा वरीपरि आगन्तुकका लागी बस्ने  बिश्राम स्थल प्रतिक्षालय समेत निर्माण हुने छन्  ।

भ्यू टावर निर्माणमा ठूलो भोल्टेजको विद्युत आवश्यक पर्ने भएकाले ११ केभी क्षमता भएको ट्रान्सफर्मर जडान हुने दमकस्थित विद्युत प्राधिकरणले जनाएको छ। तत्कालका लागि खानेपानी बोरिङ गरेर नै प्रयोग गरिएको निर्माण यूनिटले जनाएको छ । खानेपानीको पाइप पुर्‍याउन समेत आवश्यक तयारी हुँदै गरेको व्यवस्थापकीय पक्षले जनाएको छ ।

नेपाल सरकारको तर्फबाट पहिलो अग्लो टावर निर्माण भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । भूटावरको १८औं तला निर्माण भइसक्दा सञ्चालन आउनु अघि नै यस क्षेत्रमा विभिन्न स्थानमाबाट आउने पर्यटक आउन थालेका छन् । जसले स्थानीयलाई उत्साहित समेत बनाएको छ । दमक भ्युटावर नजिकै घर भएकी सकुन्तला दवाडीलाई अब आफ्नो ठाउँ पनि परिवर्तन हुने भयो भन्नेमा आशावादी हुनुहुन्छ ।

दवाडीको घरभएको स्थानमा डेढ कठ्ठामात्र जमिन छ । के गरेर खाने भन्ने सधै चिन्ता लाग्थ्यो तर अब घर अगाडी २५ तल्लाको टावर निर्माण भएपछि सानो तिनो होटल वा पसल नै गरेर पनि खान सकिने उहाँले बताउनुभयो । उहाँ जस्तै यो क्षेत्रका बासिन्दालाई यो बिकासले गाउँको मुहार फेरिने भएपछि उत्साहित बनाएको छ ।  पहिला खेतीपाति गरेर जिविका निर्वाह गर्दै आएका थियौँ तर अहिले घरमा पसल चल्न थालेको स्थानीयको भनाई छ ।

भ्यू टावर निर्माणका लागि काठमाडौको जेटसीजीआइजीसी आशिष ओम साईराम जेभीले १ अर्व ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैँयामा निर्माणको सम्झौता भएको थियो ।

दमक ३ का वडाध्यक्ष नविन बरालका अनुसार यस भ्यू टावरलाई लिएर कतिपय विपक्षी र मिडियाले पटक पटक व्यंग्य गर्ने गरेका छन् । राजनीतिक प्रतिशोधयुुक्त ति व्यंग्य केवल चुनावी खपतका लागि हुन् । ‘समाज विकास हुँदै जाँदा गाडीबाट हामी रेल तिर गयौं । त्यसैगरी अब ससाना पसलबाट डिपार्टमेन्ट स्टोरतिर गयौं भने अबको हाम्रो यात्रा ठूला बिजनेस टावरतिरै हुन्छ’ बराल भन्नुहुन्छ ‘भ्यू टावरको विरोध गर्नेहरु नै त्यस ठाउँमा व्यवाशाय गर्न पाउँ भनेर बुकिङ स्टेसन खोज्दै हिडेका छन् ।’

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारले निर्माण गरेको दमक भ्यू टावरको उचाइसँगै यो क्षेत्रको बिकास परिचयको उचाइ समेत बढाएको छ ।