काठमाडौं – नागरिक उड्यन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ।
पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइडिङ गर्दै गर्दा एकजनाको मृत्यु भएसँगै प्राधिकरणले रोक्न निर्देशन दिएको हो।
आइतवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सञ्चालनमा रोक लगाएको नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । प्राधिकरणले उडान सुरक्षाका विषयमा सुक्ष्म रुपमा अध्ययन गर्ने प्राधिकरणले जनाएको छ।
आइतबार त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो। प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ अन्तर्गत टेक अफको क्रममा खस्दा थापाको मृत्यु भएको हो।
प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सराङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो। सराङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका थापालाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन्।





प्रतिक्रिया