सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताउनु भएको छ
आज सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै यादवले सो कुरा बताउनु भएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभामा ९ र प्रदेश सभाका लागि २१ सिट मात्रै दिएर पूरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्न खोज्ने कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा सदस्य पदमा ८१ र प्रदेश सभामा १४५ स्थानमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ।’
अध्यक्ष यादवले भन्नुभयो, ‘संसद् विघटनपछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि जसपा नेपाललगायत पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सहभागी भयौँ। तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जसपालाई धोका दिए। जसको ज्वलन्त उदाहरण जनकपुर, विराटनगर र वीरगन्जलाई लिन सक्छौँ।’
अध्यक्ष यादवले मधेसलाई समृद्ध बनाउन र मधेसीहरूको अधिकार स्थापित गर्न जसपाले मात्रै सक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशको मार्गदर्शन गर्ने जिल्लाका रूपमा चिनिएको सप्तरीबाटै पुनःचुनाव जितेर मधेस र देशलाई समृद्ध बनाउने छु ।’






प्रतिक्रिया