चरिकोट – माओवादी केन्द्रकी नेतृ देवि खड्काले जिल्ला ईन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएको पुष्टी भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टी नेतृत्वले दोलखाको टिकटबारे गरेको निर्णय प्रति असन्तुष्टि जनाएउँदै नेतृ खड्काले राजीनामा दिनुभएको हो । पार्टी पोलिटव्युरो सदस्य समेत रहनुभएकी नेतृ खड्काले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिएको स्वीकार गर्नुभएको छ ।
यद्यपी टिकट नपाएर नभई स्वास्थ्यका कारण राजीनामा दिएको उहाँको दाबी छ । माओवादी केन्द्र उच्च स्रोतले भने पार्टी नेतृत्वले नेता गंगा कार्की ‘विश्व’लाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको विषय नै राजीनामाको कारण भएको जनाएको छ । “खड्का पार्टीबाट प्रत्यक्ष निर्वाचन लड्न बलियो उम्मेदवार हो, त्यसमा पनि उहाँ महिला भएको हिसाबले टिकट पाउनुपथ्र्यो, स्रोतले भन्यो, तर पार्टीको फरक निर्णय आएलगत्तै उहाँले असन्तुष्टी जनाउँदै राजीनामा दिनुभएको हो ।”
उहाँले पदबाट दिएको राजीनामा पार्टी हेडक्वार्टरले स्वीकृत गरिसकेको छैन । उहाँ दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको प्रमुख दाबेदार हुनुहुन्थ्यो। पारिवारिक नाताले उहाँहरु साली–भेना हुन्। तर उहाँहरुबीच पार्टी शान्ति प्रक्रियामा आएपछि लगातार तिब्र अन्तरसंघर्ष चल्दै आएको छ ।
संसदिय निर्वाचनका लागि बलियो उम्मेदवारलाई अवसर नदिएर पार्टीले खड्कामाथि अन्याय गरेको भन्दै निर्वाचनको माहोलमा धेरै नेता कार्यकर्ताले गुनासो गर्न थालेका छन् । खड्का २०६४ सालको पहिलो संविधानसभामा माओवादीबाट निर्वाचित भएर राज्यमन्त्री समेत बन्नुभएको थियो ।
खड्काले जिल्ला ईन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएसँगै निर्वाचनमा पार्टी पंक्ति निराश हुने भएपछि केन्द्रीय सदस्यलाई बेवास्ता गर्दै हतारमा बैकल्पिक केन्द्रीय सदस्य विशाल खड्कालाई ईन्चार्जको जिम्मेवारी दिईएको प्रचार गरिएको छ । उनीहरु सहोदर दिदीभाई हुन् । दिदीले पदबाट दिएको राजीनामा स्वीकृत नभई भाइलाई ईन्चार्जको जिम्मेवारी दिइएको प्रचारबारे पनि पार्टी कार्यकर्ताहरु अन्यौलमा छन् ।






प्रतिक्रिया