चिन्तन पाठकको नामले नेपालको राजनीतिक, सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका उहाँको वास्तविक नाम तिलचन पाठक हो । बुवा देवीप्रसाद र आमा लक्ष्मीदेवी पाठकको काईंलो छोराका रुपमा चिन्तनको जन्म वि.सं. २०२३ साल कात्तिक १७ झापाको बुद्धशान्ति गाउँपालिका वडा-२ मा भएको हो । अहिले नेपाल कम्युनिष्ट पार्टी एमाले १ नम्बर प्रदेश कमिटीको सचिवको जिम्मेवारीमा रहनुभएका चिन्तनको राजनीतिक यात्रा विद्यार्थी कालबाट सुरु भएको हो ।
यही २०७९ साल मंसीर ४ गते सम्पन्न हुन लागेको प्रदेशसभा निर्वाचनमा चिन्तन पाठकलाई नेकपा एमालेले झापा क्षेत्र-२ (ख) मा प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ । यही सन्दर्भमा युवामाझ लोकप्रिय नेताको पहिचान स्थापित गर्नुभएका पाठकको साङ्गोपाङ्गो परिचय गराउनु सान्दर्भिक हुनेछ ।
शैक्षणिक अवस्था
सरस्वती प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा आरम्भ गर्नुभएका तिलचनले बुद्धआदर्श माद्यमिक विद्यालय बुधबारेबाट माध्यमिक तहको शिक्षा उत्तीर्ण गर्नुभएको थियो । उच्च शिक्षा प्राप्तीका लागि उहाँले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह प्रथम वर्ष (आईएल) र नेपाल ल क्याम्पस काठमाडौंबाट आइएल दोश्रो वर्ष पूरा गर्नुभएको छ । सो पछि महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामबाट कानून विषयमा तिलचनले स्नातक तह उत्तीर्ण गर्नुभएको हो । कानून विषयमा स्नातक तिलचनले सक्रिय राजनीतिक जिम्मेवारी सम्हाल्नुभन्दा पहिले कानून व्यवसायी हुनुहुन्थ्यो ।
राजनीतिक यात्राको शुरुवात
राजनीतिक रुपमा आफूलाई सधैंभरि अग्रपंक्तिमा उभ्याउन सफल चिन्तन पाठक आफ्नो राजनीतिक यात्राको सुरुवात २०३६–२०३७ सालको विद्यार्थी आन्दोलनबाट भएको बताउनु हुन्छ । १३–१४ वर्षको उमेरबाटै विद्यार्थी राजनीति सिकेर उहाँले २०३८ सालमा अनेरास्ववियू बुद्धआर्दश माविको प्रारम्भिक कमिटीमा संगठित हुने अवसर पाएको स्मरण गर्नु हुन्छ ।
अनेरास्ववियूमा नेतृत्व
क्रमशः माथिल्लो जिम्मेवारीमा प्रवेश गर्दै तिलचनले २०४४ सालसम्म अनेरास्ववियू विशेष इलाका कमिटीको सदस्य र सचिवको जिम्मेवारी पूरा गर्नुभयो । उहाँले २०४४ सालमा सम्पन्न अनेरास्यवियू झापा जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाउनु भयो । उच्च अध्ययनको शिलशिलामा आईएल अध्ययन गर्न धरानमा रहेको बेला २०४६ सालमा महेन्द्र बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटी सचिवको जिम्मेवारी सम्हाल्नु भयो । आईएल दोस्रो वर्षको अध्ययनका लागि २०४७ सालमा काठमाडौं गएका उहाँले अनेरास्ववियू काठमाडौं नगर कमिटीको कोषाध्यक्ष, सचिव हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भएको थियो ।
त्यस्तै २०५० चैत्र २०–२५ हेटौंडामा सम्पन्न १२औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय शिक्षा सदस्यमा निर्वाचित भई मेची अञ्चल इञ्चार्जको जिम्मेवारी लिनुभयो । २०५२ चैत्र १३–२० विराटनगरमा सम्पन्न १३औं राष्ट्रिय सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भई उहाँ मेची अञ्चल इञ्र्चाजको जिम्मेवारीमा दोहोरिनु भयो । यसैगरी, २०५५ भदौमा काठमाडौंमा सम्पन्न १४औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित भई केन्द्रीय शैक्षिक विभागको जिम्मेवारी सम्हाल्दै चिन्तनले आफ्नो राजनीतिक यात्रालाई विद्यार्थी संगठनबाट माथि पार्टी राजनीतितर्फ मोडेको सुनाउनु हुन्छ ।
एमालेमा जिम्मेवारी
विद्यार्थी कालबाटै संगठनको माथिल्लो तहसम्म पुग्ने क्षमता प्रस्तुत गर्नुभएका तिलचन पाठक (चिन्तन)ले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ झापा जिल्ला कमिटी सदस्यको जिम्मेवारी पनि सोही अवधिमा पूरा गर्नुभएको थियो । विद्यार्थी र युवाको जिम्मेवारी सम्हालिरहेका सक्षम युवाले पार्टी कमिटीको जिम्मेवारी नपाउने कुरै थिएन । चिन्तनलाई २०५० सालमा तत्कालीन बुधबारे गाउँ कमिटीमा सदस्यको जिम्मेवारीमा ल्याइयो ।
सो पछि उहाँले बुधबारे गाउँ कमिटी सचिव, नेकपा एमाले ६ इलाका कमिटी सदस्य र क्रमशः सचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाउनु भयो । यस्तै, नेकपा एमाले विद्यार्थी फ्याक्सनको जिल्ला सदस्य र सचिव तथा नेकपा एमाले विद्यार्थी फ्याक्सनको अञ्चल सदस्यको जिम्मेवारी पूरा गर्नुभयो । सोही कालखण्डमा चिन्तनले नेकपा एमालेको सामाजिक परिचालन विभाग, सहकारी विभाग, संगठन विभागको सदस्यको जिम्मेवारी पनि कुशलतापूर्वक बहन गरेको स्मरण गर्नुहुन्छ ।
जिल्ला तहको जिम्मेवारी
२०५६ फागुन २१–२३ मा सम्पन्न नेकपा एमाले ५औं झापा जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीमा चिन्तनलाई मनोनयन गरी जिल्ला सदस्य बनाउँदै जिल्ला तहको पार्टी नेतृत्वमा विकसित गरिएको हो । सो पछि २०६० जेठ २–४ मा सम्पन्न नेकपा एमाले छैठौं झापा जिल्ला अधिवेशनबाट जिल्ला सदस्य निर्वाचित भई ५ नं। इलाका इञ्चार्जको जिम्मेवारी पाउनु भयो । यस्तै २०६३ भदौ २४–२६ मा सम्पन्न नेकपा एमाले ७ औं झापा जिल्ला अधिवेशनबाट उहाँ जिल्ला सदस्य तथा ४ नं। क्षेत्रीय सचिवको जिम्मेवारीमा दोहोरिनु भयो ।
तर पार्टीको काम गर्दा नेतृत्वमा रहेर जिम्मेवारी निभाइरहँदा पनि सधैंभरि सफलता कहाँ पाइन्छ र १ उहाँले नेकपा एमाले ८औं जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिए पनि पराजित हुनुपरेको थियो। पछि जिल्ला कमिटी बैठकले उहाँलाई जिल्ला कमिटी सदस्य पदमा मनोनित गरेर पार्टी कामलाई जिम्मेवार ढंगबाट निरन्तर सञ्चालन गर्ने अवसर पाएको उहाँ सुनाउनु हुन्छ ।
२०६९ फागुन २१–२३ सम्म सम्पन्न एमालेको ९औं जिल्ला अधिवेशनबाट बनेको कमिटीमा भने उहाँ सचिव पदमा सर्वसम्मत निर्वाचित हुनुभयो । सो पछि २०७१ पुस १७–१९ गते सम्पन्न एमाले प्रथम झापा जिल्ला परिषद् बैठकबाट चिन्तनले अध्यक्षमा सर्वसम्मत जिम्मेवारी पाउनु भएको थियो । उहाँको राजनीतिक यात्राकै क्रममा २०७६ वैशाख ९ गतेबाट नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जिल्ला अध्यक्षको रुपमा चयन हुने अवसर पनि पाउनु भएको थियो ।
कष्टडीको बास
नरम स्वभावका चिन्तनले राजनीतिक जीवनका क्रममा पटक–पटक कष्टडीको बास बस्नु परेको थियो । पञ्चायत बिरोधी आन्दोलन, दासढुंगा हत्या आन्दोलन, कर्मचारी आन्दोलन तथा जनआन्दोलनको समयमा उहाँले पटक–पटक कष्टडीमा रात बिताएको इतिहास छ ।
सामाजिक–व्यवसायिक जिम्मेवारी
सबैलाई एकै स्थानमा समेट्दै पार्टीलाई मजबुत बनाएर लैजानुपर्छ भन्ने मान्यताले चिन्तनसँग विभिन्न सामाजिक–व्यवसायिक संघ–संस्थामा रहेर जिम्मेवारी सम्हालेको अनुभव छन् । उहाँसँग बुधबारेसँगै झापाका दर्जनौं सामाजिक संघ–संस्थाको नेतृत्वदायी भूमिका निर्वाहा गरेको अनुभव छ ।
सबैसँग मिल्न सक्ने र सबैलाई पार्टीको नेतृत्वमा अग्रस्थानमा पुर्याउन अहम भूमिका निर्वाह गरेका चिन्तन पाठक २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्नु भएको थियो । प्रतिष्पर्धीसँग झिनो मतान्तरले उहाँ पराजित हुनुपरेको थियो । तर पनि अधिकांश स्थानमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई विजय गराउनुलाई आफू सफल भएको चिन्तन विश्लेषण गर्नुहुन्छ ।
पत्रकारिताको पनि अनुभव सम्हालेका चिन्तनले सहकारी संस्थाको प्रारम्भिक संस्थाको अध्यक्ष, जिल्ला सहकारी संघको सञ्चालक हुँदै लेखा सुपरीवेक्षण समितिको संयोजकसम्मको जिम्मेवारी निभाउनु भएको छ। उहाँले शैक्षिक संस्थाहरुको नेतृत्वसमेत गर्ने अवसर पाउनु भएका थियो । पार्टी कामको सिलसिलामा उहाँले भारत र थाइल्याण्डको भ्रमण गर्ने अवसर पाउनु भएको थियो ।
चिन्तन पाठक यतिबेला पूर्णकालीन राजनीतिक जिम्मेवारीमा रहेर काम गरिरहनु भएको छ । उहाँको राजनीतिक यात्रामा श्रीमती कमला पाठकले पूर्णरुपमा साथ सहयोग दिएको चिन्तनको अनुभव छ । चिन्तन–कमलाका एक छोरा मञ्जिल र एक छोरी मेलिना छन् । दुवैको विवाह पछि बुहारी दिपज्योति कट्टेल पाठक र ज्वाईं सुमन बिमलीसमेत आफ्ना अभिभावक ससुरा बुवाको राजनीतिक यात्रा सफलताका लागि सक्दो सहयोग गरिरहनु भएको पाइन्छ ।






प्रतिक्रिया