अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण- फ्रि भिसा फ्रि टिकटको आश्वासन दिन मिल्छ ?

माधव नेपाललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण- फ्रि भिसा फ्रि टिकटको आश्वासन दिन मिल्छ ?


काठमाडौं – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ ।

अध्यक्ष नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ । आयोगले लेखेको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले ‘बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते है’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’

‘निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आचारसंहिताको दफा २३ को उपदफा (३) तथा उपदफा (४) बमोजिमको कारवाही किन गर्नु नपर्ने हो ? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उमेदवार रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा आफैं उपस्थित भै वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्नुहुनु निर्णयअनुसार जानकारी गराइन्छ,’ आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।