दोलखा – नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले एमालेमा पुस्तान्तरण भइरहेको बताउनुभएको छ ।
एमाले बैत्यश्वर गाउँपालिका कमिटीद्वारा आयोजित कार्यक्रममा पोखरेलले एमालेमा क्रमश: पुस्तान्तरण भइरहेको र यसको उदाहरण यही निर्वाचन पनि भएको बताउँदै अब एक महिना सबै नेता कार्यकर्ता सुतेर बस्ने बेला नभएको बताउनु भयो।
कार्यकर्ता, उम्मेदवार र मतदाता भेटघाट कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले एमालेको सरकारले देश समृद्ध बनाउन उल्लेख्य कार्य गरेको बताउँदै एमालेले समृद्ध देश निर्माणका लागि योजना निर्माण र तयारी गरेकाले यो अवसर एमालेलाई नै दिनुपर्ने बताउनुभयो । उहाँले समृद्ध दोलखा निर्माणका लागि बाँकी अधुरा काम आफूले पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भनुभयो, ‘हामी विपक्षी पार्टीलाई मित्रवत तरिकाले चुनावमा जानुपर्ने बताउँदै आएका छौँ र यसलाई हेक्का राख्न पनि अनुरोध गर्दछौँ’ ।
त्यस्तै प्रदेशसभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठले बैत्यश्वर कम्युनिस्टको उद्गमस्थल रहेको भन्दै स्व. पशुपति चौलागाईंका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। चौंलागाईको अतुलनीय योगदानको उहाँले सम्झना गर्नुभयो। उम्मेदवार श्रेष्ठले आफ्नो पार्टी निष्पक्ष निर्वाचनको पक्षमा रहेको बताउनुभयो।
प्रतिक्रिया