सुर्खेत – सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागु औषध (ब्राउन सुगर) सहित पाँच जनालाई पक्राउ गरेको छ ।
सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०मा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
गए राति २३:४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा १७ च ७९६९ नंको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रनाउ कार्कीका अनुसार भारतको बहराइज नानपरा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गण्डकी लाइन बस्ने २६ वर्षीय लियाकत अलीलाई पनि तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा चेकिङमा खटिएका टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५च ३७७२ नंको फोर्स गाडीमा जाँचका क्रममामा अलीलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया