अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ५ का जनतामाथि गठबन्धन कुदृष्टि, एमाले सरकारको पालामा सुरु भएका १८ योजनामा बजेट कटौती

झापा ५ का जनतामाथि गठबन्धन कुदृष्टि, एमाले सरकारको पालामा सुरु भएका १८ योजनामा बजेट कटौती


झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिकामा मात्र गठबन्धन सरकारले चालु अवस्थामा रहेका र निर्माण सुरु हुने चरणमा रहेका १८ वटा योजना कटौती गरेको छ ।
गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीका अनुसार निर्माणाधिन सडकहरुमा नियतवश बजेट कटौती गरेपछि यहाँका बासिन्दा मारमा परेका छन् । ओली प्रधानमन्त्री भएका बेला २०७७ साल माघमा आफू सहित मागपत्र लिएर गएको सुवेदीले बताउनुभयो । ‘त्यसबेला प्रधानमन्त्रीज्यूले अर्थमन्त्री विष्णु पौडेललाई हामीले माग गरेका योजनामा बजेट हाल्न निर्देशन दिनु भएको थियो’ सुवेदीले यो बेलासँग भन्नुभयो ‘गठबन्धन सरकार बनेपछि यी योजनाहरुमा बजेट नपठाउँदा काम अधुरो भएको छ।’
सुवेदीका अनुसार कोहबरा- ग्वालडुब्बा -बैगुन्धुरा -महाभरा सडक,चिया दोकान -सेतुमारी -गौरादह सडक, गुराँस चौक- मजुवा- डोरामारी- चप्रामारी सडक,शनिश्चरे- कोहबरा- महारानीझोडा- गौरादह- पाँचगाछी सडक र सितापुरी- रंगपुर मियाटोली सडक गरी पाँचवटा सडक अलपत्र परेका छन् । यी सडक टेण्डर लागेर काम सुरु भइसकेका हुन् । तर गठबन्धन सरकारले रकम कटौती गरेपछि यी सडकहरुमा काम बन्द भएको छ । ‘बजेट निकासा र कामको निरन्तरताका लागि केही पहल प्रयत्न गरियो तर हाम्रो कुरा सुनुवाइ भएन’ सुवेदीले भन्नुभयो ।
यसैगरी योजना छनौटको सम्पूर्ण काम सकिएर सडक विभागले स्विकृत गरिसकेका चारवटा योजनामा बजेट नदिंदा यीनीहरुको निर्माण कार्य नै अनिश्चित बनेको छ । ति सडकहरुमा गौरादह वडा नम्बर ४ र ५ जोरघरे देखि देवी मार्ग हुदै रंगपुर पुग्ने सडक, स्कूलचौन डोरामारी बनियाँ टोली सडक, खरेल डाँडा बरगाछी गौरीगञ्ज सडक, फकिरटिप दामुना सडकमा बजेट नदिंदा यीनीहरुको निर्माण कार्य नै अनिश्चित बनेको सुवेदीले बताउनुभयो । ‘स्थानीय बासिन्दाले हामीसँग गुनासो गर्ने हुन् किन काम सुरु भएन भनेर’ सुवेदीले भन्नुभयो ‘यसको जवाफ हामीसँग पनि छैन ।’
विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गरेर योजना स्विकृत भइसकेको ६ वटा पुलमा बजे नदिंदा सर्वसाधरणले अझै केही वर्ष सास्ती व्योहोर्नु पर्ने स्थिती सृजना भएको छ । यसरी बजेट रोकिएका पुलहरुमा रतुवा खोला पुल गौरादह ६- तेलिया डागीँ सिजुवा मोरङ, रतुवा खोला पुल वडा नम्बर ५ चप्रामारी -झुनाबारी मोरङ, चान्दु खोला पुल वडा नम्बर ५ बालुबथान हरिनगरा, चान्दु खोला पुल वडा नम्बर ५ डाकमान पूर्वको पुल,.चान्दु खोला पुल वडा नम्बर ५ राई गाउँ पश्चिम र गेउरिया खोला गौरादह १ र कमल ७ रंगपुर जोड्ने पुल अलपत्र परेका छन् ।
अर्कोतिर एशियाली विकास बैंकको सहयोगमा निर्माण हुने चार वटा सडक आयोजनामा बजेट रोकिएको छ । जसमा सितापुरी-रंगपुर स्कुलचौन- स्वामी चौक- चप्रामारी- दामुना -खजुरगाछी सडक, अर्जुनदेव राईको घरदेखि गौरादह-दहलु ठकठके -ठेकीटोला सडक, चान्दु -भद्रकाली-कोहबरा- दामुना- सिङगाडुब्बा-हुलाकी मार्ग सडक, खरेल डाँडा- बरगाछी- दुधाली-जोरपोल- गौरीगञ्ज सडक रहेका छन् ।
स्थानीय बासिन्दाका अनुसार केपी ओलीको निर्वाचन क्षेत्र भएकै कारण गठबन्धन सरकारले यस क्षेत्रका जनतालाई अन्याय गरेको छ । ‘एउटा सरकारले विकास दिने अर्कोले कटौती गर्ने कुरा राम्रो होइन’ एक स्थानीयबासिन्दा बासिन्दा भन्छन् ‘गठबन्धन सरकारले ओलीको क्षेत्रका बासिन्दा भएकै कारण हामीमाथी अन्याय गरेको छ ।’