अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीका कारण ८ वर्षमा फेरिएको पश्चिम झापा

केपी ओलीका कारण ८ वर्षमा फेरिएको पश्चिम झापा


काठमाडौं – केपी शर्मा ओलीको निर्वाचन क्षेत्र विकासका लागि नमूना हो । ओली पार्टीको शक्तिमा आएको ८ वर्ष र राजकीय शक्तिमा आएको ६ वर्ष भयो । यो अवधिमा झापा-५ को विकासले फड्को मारेको छ । त्यसैले यहाँका कांग्रेस, राप्रपा र माओवादी मतदाताको भर ओली माथि नै छ ।

झापाका किसानलाई तत्कालीन साहु महाजनले शोषण गरेको, पञ्चायतले  जनतालाई थिचोमिचो गरेको र राजनीतिक दलमाथि प्रतिबन्द लगाएको अवस्थाका विरुद्धमा आन्दोलनमा होमिएका एक जना युवा कालान्तरमा आन्दोलन सफल पारेर देशको प्रधानमन्त्री हुनुभयो ।

झापा विद्रोहका नामले चर्चित २०२७/०२८ सालको काण्डपछि केपी शर्मा ओलीको नाम मानिसहरूले सुन्न थालेका हुन् । २०२९ सालमा ओलीका पाँच जना सहकर्मीलाई झापा र इलामको सिमानामा गोली हानेर मारियो । त्यसको एक वर्षपछि २०३० असोजमा उहाँलाई राज्यद्रोहको मुद्दामा जेल हालियो । १४ वर्ष विभिन्न जेलमा बसेर २०४४ सालमा ओलीलाई विना सर्त जेलमुक्त गरियो । त्यसपछि उहाँलाई पार्टीले लुम्बिनी अञ्चल इन्चार्जको रूपमा बुटवल पठायो । २०४६ सालको जनआन्दोलनको नेतृत्व उहाँले त्यहीबाट गर्नुभयो । १४ वर्षको जेल जीवन र तीन वर्ष लुम्बिनी लगायतका क्षेत्रहरूमा कुशल नेतृत्व गरेपछि आफूले ओलीले  विजारोपण गरेको झापालाई २०४७ सालपछि ओलीले राजनीतिक थलो  बनाउनुभयो । उहाँको घरमध्ये झापाको तत्कालीन पृथ्वीनगर गाविस हो । तर उहाँले संसदीय राजनीतिका लागि पश्चिम झापा रोज्नु भयो ।

बिर्सन योग्य २०६४ साल

२०६४ साललाई बिसर्ने हो भने २०४८ साल देखिका हरेक आमनिर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम दक्षिण झापालाई आफ्नो कर्म थलो बनाउनु भएको छ । यहाँका जनताले एक पटक बाहेक ३१ वर्षमा ६ पटक ओलीलाई सांसद बनाएर पठाएका छन् । २०६४ सालमा माओवादीको लहर चलेका बेला ओली १ हजार चार सय मतले पराजित हुनुभयो । त्यसभन्दा पछिका दुवै निर्वाचनमा अत्याधिक मतान्तरले यहाँका जनताले ओलीलाई जिताउने गरेका छन्। २०७४ सालमा त देशैभरिको सर्वाधिक मतान्तर २८ हजार मतले प्रतिवन्दीलाई ओलीले पराजित गर्नुभयो ।

 पश्चिम झापामा २०४८/०५१ र २०५६ सालमा क्षेत्र नम्बर ६ थियो । त्यसमा तत्कालीन तोपगाछी, लखनपुर, गौरादह, कोहबरा, खुजरगाछी, जुरोपानी र दमक नगरपालिका थिए । २०७४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र पुननिर्धारण हुँदा धरमपुर, तोपगाछी, लखनपुर र दमक नगरपालिका मिसाएर क्षेत्र नम्बर ७ बनाइयो। दक्षिणी झापाका कोहबरा, गौरादह, खजुरगाछी, जुरोपानी मिलाएर क्षेत्र नम्बर ६ बनाइयो । संविधानसभाको निर्वाचनमा झापा ७ का  मतदाताको क्षणिक आवेगले अध्यक्ष ओलीको पराजय भयो । ओलीले अहिले पनि उक्त निर्वाचनको स्मरण गर्दा ‘यहाँका जनताले गरेको एउटा गम्भिर भूल’ भन्ने गर्नुभएको छ । २०६४ देखि २०७० को ६  वर्ष यहाँका विकास निर्माण ठप्प भए । न यहाँ कुनै नयाँ योजना, न पुरानालाई निरन्तरता आफूले पठाएका सांसदका बद्नामीयुक्त अनुहार हेर्दै र समाचार पढ्दै यहाँका जनताले पछुतो गरिरहे ।

२०७० सालको निर्वाचनमा यस क्षेत्रका जनताले भुल सुधार गरेर अध्यक्ष ओलीलाई भारी मतले जिताएर पठाए । २०७४ सालमा त  प्रतिवन्दीलाई २८ हजार मतको अन्तरले पराजित गर्दै अध्यक्ष ओली विजयी हुनुभयो ।

२०७० मा भावी पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रूपमा

२०७० सालको निर्वाचन हुँदै गर्दा ओलीलाई दुईवटा हिसाबले मतदाता सामु प्रष्तुत गरिएको थियो । पहिलो वर्षदिन पछि हुन लागेको पार्टीको महाधिवेशनबाट एमालेको अध्यक्ष र दोस्रो भावी प्रधानमन्त्री । नभन्दै यहाँका मतदाताले जिताएर पठाएको वर्षदिन नपुग्दै भएको एमालेको नवौं महाधिवेशनले अध्यक्ष ओलीलाई नेकपा एमालेको अध्यक्षमा निर्वाचित ग¥यो ।

त्यसको एक वर्षपछि २०७२ साल असोज २४ गते ओली प्रधानमन्त्री बन्नुभयो । ‘हामीले मत दिएर पठाएको नेता देशको प्रधानमन्त्री हुने कुरा नै हाम्रा लागि अथाह प्राप्ती थियो’ दमकका बासिन्दा पूर्व शिक्षक नेत्र प्रसाद दाहाल भन्नुहुन्छ ‘उहाँ प्रधानमन्त्री भएपछि यस क्षेत्रमा विकासको लहर आएको हो ।’

उहाँलाई क्षेत्रको विकासमा ध्यान नदिएको र चुनाव जितेर गएपछि क्षेत्र नफर्किएको आरोप प्रधानमन्त्री भएपछि एक्कासी खण्डित भएर गयो । ओली प्रधानमन्त्री भएपछि हरेक महीना निर्वाचन क्षेत्रमा जाने, नयाँ–नयाँ विकासका योजना शिलान्यास गर्ने काम हुन थाले । त्यसपछि ओलीप्रति आम मानिसले बनाएका धारणा पनि बदल्न थाले । ‘जितेर गएपछि क्षेत्र फर्किदैनन्,यहाँको विकासमा ध्यान दिदैनन् भन्ने भाष्य नै परिवर्तन भयो’ दाहाल भन्नुहुन्छ ‘अघिल्लो पटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेका योजना पछिल्लो पटक प्रधानमन्त्री हुँदा उद्घाटन भए । उहाँको आउने जाने क्रम निरन्तर भयो । मतदाताले प्रधानमन्त्रीसँग प्रत्यक्ष साक्षात्कार गर्न पाए ।’

ओली प्रधानमन्त्री भएपछि विकासको लहर

अध्यक्ष ओली प्रधानमन्त्री भएपछि दमकको उत्तरी क्षेत्रमा मोरङको मधुमल्ला जोड्ने मावा खोला पुल,इलामको चुलाचुली जोड्ने रतुवा खोला पुल, गौरादहबाट दमक जोड्ने रतुवा खोला पुल, दमकबाट मोरङको राजघाट जोड्ने मावा खोला पुल निर्माण भइसकेका छन् । अघिल्लो पटक प्रधानमन्त्री भएका बेला शिलान्यास गरिएको १८ तल भ्यू टावर निर्माणको अन्तिम चरणमा छ । दमकबाट दक्षिणी क्षेत्र जोड्ने सडकहरू पिच भएका छन् । गौरीगञ्जमा हुलाकी सडक निर्माण सम्पन्न भएको छ । हुलाकी सडकको रतुवा खोलामा प्राविधिक कमजोरीले बेवारिसे भएको पुल पुनर्निमाणको क्रममा छ । गौरीगञ्जलाई हुलाकी सडकको नमुना सहर बनाउने कार्य अघि बढी रहेको छ । गौरादहमा कृषी विश्वविद्यालयको आंगिक  क्याम्पस  स्थापना गरिएको छ । ‘विकासका यी नमूना अरू जनप्रतिनिधि भएको अवस्थामा सम्भव थिएन’ गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी भन्नुहुन्छ ‘यस पटक देखि हामी दक्षिणी क्षेत्रमा पनि विकासका ठूला योजनाहरू माग गर्दैछौं।  आगामी पाँच वर्षमा यो क्षेत्रलाई राष्ट्रिय गौरवका आयोजना भएको क्षेत्रको रूपमा चिनाउछौं ।’

नियोजित दुई भाष्यः

१.बजेट जति ओलीको क्षेत्रमा

२. ओलीको क्षेत्रमा विकासै भएन  

केही मिडियाहरुले विभिन्न खाले धारणा बनाइदिन्छन् बेलाबेला केपी ओलीको क्षेत्रमा । जस्तै उहाँ प्रधानमन्त्री भएको बेला ठूला भनिएका मिडियामा समाचार आउछ ‘बजेटजति ओलीको क्षेत्रमा ।’ यो क्रम दुईपटक गरी उहाँ प्रधानमन्त्री भएर ल्याएका चार वटै बजेटका बेला उस्तै क्रममा रह्यो । अनि निर्वाचन नजिकिदै गएपछि तिनै मिडियाले लेख्ने गरेका छन् ‘दुई पटक प्रधानमन्त्री भए पनि ओलीको क्षेत्रमा विकास भएन ।’

सुवेदीका अनुसार विकास भयो र भएन भन्ने अनुभुति जनताले गरेका छन् । १० वर्ष अघि र अहिलेको निर्वाचन क्षेत्रमा भएको विकास केवल विकासको निरन्तरता मात्र होइन । ‘उहाँले प्रधानमन्त्री भएका बेला विशेष बजेट हालेर यो क्षेत्रको विकासमा  ध्यान दिएकै हो’ सुवेदी भन्नुहुन्छ ‘यो क्षेत्रमा विकास भएन भनेर गलत धारणा बनाउनेहरूले कि भूगोल हेरेका छैनन् कि ओलीप्रति नकारात्मक दृष्टिकोण राखेका छन् ।’

त्यसो त सत्ता गठबन्धनसँग मिलेर मेयर जितेका राम थापा पनि गठबन्धन सरकारले दमकलाई गरेको विभेदबाट अहिले नै हायलकायल हुनु भएको छ । ओली प्रधानमन्त्री भएका बेला अथाह बजेट र योजना आउने गरेकोमा गठबन्धन सरकारले स्याप्पै सुकाइदियो । ‘यसको अपजसजति सबै मेरै थाप्लामा आउने भयो’ थापाले निकटस्थसँग भन्ने गर्नुभएको छ ‘केपी ओलीसँग समन्वय गरेर नै यो क्षेत्रको विकास गर्न सकिन्छ ।’