रुपन्देही – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनले समर्थन गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन नगर्ने भएको छ । सो पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय फिर्ता लिइएको उल्लेख छ ।
सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गत बुधबार सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो ।
बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकपछि जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भनी जारी गरिएको विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि हस्ताक्षर गर्नुभएको थियो ।
तर केसीले शुक्रबार विज्ञप्ति जारी गरी त्यस दिन भूलवश हस्ताक्षर हुन पुगेको बताउनु भयो । ‘राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलवश हुन गएको छ । हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौँ’ केसीले विज्ञप्तिमा भनेका छन् ।






प्रतिक्रिया