झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा-३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताउनु भएको छ ।
आज झापा-३ मा आयोजित एमाले-राप्रपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो एमालेले जसलाई समर्थन गरेको छ उसलाई जिताउनु एमालेको दायित्व भएको बताउनु भयो ।
एमाले अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पुगेर उहाँका लागि भोट माग्नुभएको छ ।
‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ उहाँले भन्नुभयो, हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो ।’
उहाँले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने बताउनुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ । जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’
अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दावी गर्नुभयो ।






प्रतिक्रिया