झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिबेला धेरै तर्क वितर्क गर्ने बेला नभएको बताउनुभएको छ ।
झापामा आज नेकपा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश दुई वटा ध्रुवमा बाँडिएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा राष्ट्रियताको पक्षमा, राष्ट्रिय हितको पक्षमा, स्वाभिमानको पक्षमा उभिने शक्ति, अर्को त्यसको विपरीत आत्मसमर्पणको नीति, सत्ता स्वार्थको नीति र घुँडा टेकुवाहरू, यी दुइटामा बाँडिएको छ र आज नेकपा एमाले राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार हो ।’
एमाले देश भक्त शान्तिपूर्ण र विकासको धार भएको ओलीले बताउनुभयो । एमाले विकासको पक्षको धार भएको उहाँले प्रष्ट पार्नुभयो । एमालेले विकासको अभियन्ताको रूपमा अगुवाइ गर्ने ओलीको भनाइ छ । उहाँले भन्नुभयो, ‘त्यस ध्रुवमा देश भक्त शक्तिहरू एकत्रित हुँदै जान थालेका छन् ।’
अध्यक्ष ओली भन्नुभयो, ‘यो घोषित रुपमा नै विदेशीका लागि कम्फर्टेबल सरकार हो । तर, जनताका लागि भने अत्यन्तै माटोमा सुतेभन्दा बढी कष्टप्रद छ । जनतालाई भिष्मपितामहले सरसैयामा सुतेजस्तो भएको छ ।’
उहाँले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको मूल्यांकन गर्दा उहाँले आफ्नो क्षेत्रमा विकास गरे कि गरेनन् भनेर नहेर्न आग्रह गर्नुभयो । सत्तामा कहिल्यै नपुगेकाले उहाँले विकासको परीक्षा दिन नपाएको ओलीको भनाइ छ ।
‘उहाँ सरकारमा नै थिएनन् त कसरी विकास गर्ने ? सरकारमा नभएको पार्टी र सांसदलाई हेर्ने भनेको नीतिको आधारमा हो । विकासको कुरा त मलाई सोध्नुस् । यसमा म जबाफदेही हुन्छु,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष लिङदेनले कहिल्यै देशहित विरुद्धमा नबोलेको र देशकाविरुद्ध बेइमानी नगरेको ओलीको भनाइ छ ।

नेपाली कांग्रेसले देशको इज्जत माटोमा मिलाइदिएको ओलीले बताउनुभयो । विदेशीलाई सजिलो हुने सरकार बनाइदिन्छौँ भनेर सार्वजनिक ढंगले प्रतिबद्धता जनाएर अहिलेको गठबन्धन सरकार बनेको ओलीले स्मरण गराउनुभयो । अहिलेको सरकार नेपाली जनतालाई बाणको शय्यामा सुतेभन्दा पनि अप्ठेरो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली जनतालाई सहिनसक्नु भएको छ, विदेशीलाई कम्फरटेवल भएको छ ।’
देशको स्वाभिमान रक्षा गर्नु पर्छ कि पर्दैन भन्ने कुरा अहिलेको प्रमुख विषय भएको ओलीले बताउनुभयो । गठबन्धनका दलले सत्ता प्राप्त गर्न र टिकाउनको लागि जे पनि बेचिदिने ओलीको भनाइ छ । त्यसबाट देश जोगाउनु आजको आवश्यकता भएको उहाँले प्रष्ट पार्नुभयो ।






प्रतिक्रिया